विदेश भ्रमणमा जाने नेपाली नागरिकले २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी मुद्रा बिक्री गर्न इजाजतप्राप्त मनी चेन्जरले यो सुविधा दिन सक्ने व्यवस्था गरिएको जनाएको छ ।
तत्कालका लागि त्रिभुवन विमानस्थलमा रहेको विदेशी मुद्रा बिक्रीका लागि इजाजत प्राप्त मनी चेन्जरले मात्रै यो सुविधा दिने व्यवस्था मिलाइएको छ । विदेश भ्रमणमा जानेले बैंकबाट अधिकतम १५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था छ । बैंकबाट १५ सय डलरको सटही सुविधा लिइसकेकाले भने मनी चेन्जरबाट थप सटही सुविधा पाउने छैनन् । बैंकबाट १३ सय डलर वा सोभन्दा कमको सटही सुविधा लिइसकेकाले विमानस्थलबाट थप २ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् ।