मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक नागरिकले गुणस्तरीय स्वास्थय सेवा प्राप्त गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सरकार मातहत रहेका प्रदेशका ५ वटा जिल्ला अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रदेश सरकारको नीतिे रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्वास्थ्य उपचार सेवामा स्तरोन्नती र गुणस्तरीय सेवा प्रदान गर्न दक्ष चिकित्सक र सुविधायुक्त प्रयोगशाला स्थापना गर्दै लैजाने नीति लिएको बताउनुभयो । उहाँले प्रदेशका १३ वटै जिल्ला अस्पताललाई स्वास्थ्य उपचार सेवामा स्तरोन्नती र गुणस्तरीय सेवा प्रदान गर्ने प्रदेश सरकारको नीति रहेको समेत बताउनुभयो ।

बागमती प्रदेश सरकार मातहतका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, धादिङको धादिङ अस्पताल र नुवाकोटको त्रिशुली अस्पताललाई सुबिधायुक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको अस्पताल सुदृढीकरण कार्यक्रम अन्तरगत एक करोड ८६ लाख ७५ हजारको लागतमा ५ वटा ‘ख’ वर्गको सुविधासम्पन्न एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेको हो । प्रत्येक एम्बुलेन्स २९ लाख २० हजारको लागतमा खरिद गरिएको बताईएको छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव दिपेन्द्र काफ्ले, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिती थियो ।