हेटौंडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई पहिलेकै रिफर अस्पताल बनाउने गरी बागमती प्रदेश सरकार लागि परेको छ । तत्कालिन नेकपा एमालेका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा प्रतिष्ठान निर्माण गरेर त्यही मार्फत हेटौंडा अस्पताल सञ्चालन गरिदै आएको थियो । अस्पतालको सेवामा निकै सुधार पनि भएको थियो । धेरै खालका बिरामीको उपचारसंगै अप्रेसन समेत हुँदै आएको छ । प्रतिष्ठानले अस्पतालमा आइसीयु, एचडीयु सेवा पनि सञ्चालन गरेको थियो । कोरोनाको महामारीमा सयौं बिरामीलाई आइसीयुमा र एचडीयुमा राखेर उपचारको व्यवस्था गरिएको थियो । तर, अहिले प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौंडा अस्पताललाई रिफर अस्पताल बनाउने खेल सुरु गर्नु भएको छ । राजनीतिक प्रतिशोधका कारण पाण्डेले हेटौंडामानै चिकित्सा शिक्षा अध्यापन गर्ने र अध्यापन गर्ने डाक्टरहरुलाई हेटौंडा अस्पतालमा प्राक्टिकल गर्नका लागि सहज हुने विषयलाई थप समस्यामा पारिएको छ ।
एमालेको सरकारका पालाका कानूनलाई उल्टाउनुपर्छ भनेर लाग्दा यहाँको स्वास्थ्यलाई कमजोर बनाइएको हो । टिचिङ अस्पतालको रुपमा विकास हुँदै गएको हेटौंडा अस्पताललाई प्रदेश सरकारले कमजोर बनाउन लागिएकोमा मकवानपुरका धेरै नागरिकले बिरोध गरेका छन् । अध्यादेश मार्फत प्रतिष्ठानलाई हेटौंडा अस्पतालबाट अलग गर्न प्रदेश सरकारले निर्णय गरेसंगै अहिलेको अस्पताल निकै कमजोर बन्ने छ । प्रतिष्ठान मार्फत डाक्टरको पढाइ हेटौंडामै हुने र हेटौंडा अस्पतालमा तीनै डाक्टरले प्रयोगात्मक समेत गर्नेगरी पहिलेको सरकारले कानून निर्माण गरेको थियो ।प्रदेश सरकारले प्रतिष्ठान र अस्पताललाई अलग गर्ने निर्णयसंगै प्रतिष्ठानको शैक्षिक कार्यक्रम भरतपुर लैजाने तयारी भएको एक कर्मचारीले बताए । चिकित्सा शिक्षा आयोग मार्फत प्रतिष्ठानले डाक्टर पढाउँदा आफ्नै एक सय बेढको अस्पताल हुनुपर्ने प्राबधान राखेको छ । तर, यो अध्यादेश प्रदेश प्रमुख यादब चन्द्र शर्माले प्रमाणिकरण गरेपछी प्रतिष्ठानको अस्पताल हुँदैन । डाक्टर पढाइमा पनि समस्या हुन्छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिष्ठान र अस्पताललाई छुटाएर शैक्षिक कार्यक्रमलाई भरतपुर अस्पतालमा गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठान मातहत भएको हेटौंडा अस्पताललाई छुटाएर भरतपुर पुर्याउने प्रदेश सरकारको निर्णयको मकवानपुरवासीहरुले बिरोध गरेका छन् । सामाजिक सञ्जाल मार्फत पनि यसको निकै बिरोध भएको छ । मकवानपुरवासीहरुको स्वास्थ्य उपचारमा बषौदेखि समस्या भोग्दै आएपनि प्रतिठानद्वारा संचालनमा आएपछी सहज भएको थियो । प्रतिष्ठानको आफ्नै अस्पताल समेत नभएपछी चिकित्सा शिक्षा आयोगले अरु शैक्षिक कार्यक्रम पनि नदिने संभाबना बढेको छ । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वायत् संस्थाको रुपमा स्थापना गर्नका लागि आफ्नै अस्पतालको व्यवस्था गर्ने उद्देश्य अनुसार अध्यादेश ल्याइएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण मन्त्री खनालले बताउनुभयो । उक्त अध्यादेश जारी भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखिएको हेटौंडा अस्पताल अलग हुने छ । हेटौंडा अस्पतालमा चिकित्सा शिक्षाका अन्य विषयहरु अध्यापन गराउनको लागि प्रयाप्त भौतिक संरचना र जनशक्ति नभएकाले प्रतिष्ठानबाट अलग गरिएको उहाँले बताउनुभयो ।