मकवानपुर–जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपालमा दक्ष जनशक्ति उत्पादन हुने खालका तालिमको आवश्यक्ता रहेको बताउनुभएको छ । हेटौंडामा श्रमबजार सुचना सम्बन्धी परियोजनाको बागमती प्रदेश स्तरीय कार्यक्रमको उद्घाटन कार्यक्रमलाइ आईतबार सम्बाेधन गर्नुहुँदै प्रमुख खुलालले तालिमका लागि तालिम दिने र बजेट खर्च गर्ने परिपाटीको अन्तय हुनु पर्ने बताउनुभएको हो ।

प्रमुख खुलालले बिगतमा विभिन्न तालिमका नाममा थुप्रै कार्यक्रमहरु सञ्चालन भएको र त्यसमा बजेट मात्र सक्ने काम भएको भन्दै तालिमका लागि मात्र तालिम प्रदान गर्ने र बजेट सक्ने परिपाटीको अन्तय गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको जनसंख्या भन्दा बढीले विभिन्न तालिम लिएको तर त्यसबाट सोँचे अनुसारको प्रतिफल प्राप्त नभएको बताउनुभयो । उहाँले उद्योगमा दक्ष कामदार अभावका कारण अहिले पनि भारत लगायत देशबाट श्रमिक ल्याउनुुपर्ने अवस्था रहेको भन्दै त्यसको अन्तयका लागि तीनै तहका सरकारले युवाहरुलाई स्वारोजगार बनाउने र दक्ष जनशक्ती उत्पादन गर्ने खालका तालिम तथा प्रशिक्षण सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले परियोजनाको माध्यमले उद्योग क्षेत्रमा रहेको श्रम अभावको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल, नेपाल निर्माण व्यवसायी महासंघको साझेदारीमा एक रोजगारदाता नेतृत्व लेवर मार्केट सचिवालय (एलम्स) परियोजनाको बागमती प्रदेशको राजधानी हेटौंडामा सुरुवात गरिएको हो । श्रम बजारको माग अनुसार रोजगारदाता संघहरुले समन्वयात्मक रुपमा श्रमबजार सुचना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न परियोजनाको सुरुवात गरिएको बताईएको छ । परियोजनाले राष्ट्रिय पेशागत वर्गीकरण मापदण्डको विकास गर्ने, श्रमबजार सुचना प्रणालीको विकास गर्ने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकता अनुसार सीपयुक्त जनशक्तीको विकास गर्ने जस्ता कार्यहरु गरिने परियोजनाकार चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा उद्योग संघ, होटल संघ, निर्माण व्यवसायी संघ, दुग्ध संघ लगायतका संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।