मकवानपुर– मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कुनै पनि प्रकारको न्युनिकरणका लागि समुदाय सचेत हुनुपर्ने बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको आयोजनामा आइतबार आयोजित सार्वजनिक यातायातमा महिला यात्रु माथी हुने यौनजन्य हिंसा न्युनिकरण सम्बन्धी अन्तरकृया कार्यक्रममा प्रजिअ रिजालले कुनै पनि प्रकारको हिंसाको न्युनिकरण र हिंसाको प्रतिकार गर्न नागरिक सचेत हुनु पर्ने बताउनुभयो ।

प्रजिअ रिजालले हिंसाको प्रतिकार गर्न नागरिक सचेत हुनु पर्ने भन्दै समुदायलाई सचेत बनाउन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा जनभावना विपरित काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै लामो समय सम्म एकैठाउँमा बसेर काम गर्न पाउँने वातावरण नहुँदा कहिलेकाँही जनभावना अनुसार काम गर्न नपाईने तर जिल्लामा रहुँन्जेल आफुले गरेको काममा जनगुनासो आउँन नदिने समेत बताउनुभयो ।

कार्यक्रममा प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले सामुदायिक प्रहरी सेवा केन्द्र र समुदायसँग हातेमालो गरेर अगाडी बढन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समाजमा हुने आपराधिक गतिविधि प्रहरी एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दै साथ र सहयोगको अपेक्षा रहेको समेत बताउनुभयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम विष्टले सामुदायिक सेवा केन्द्रले गरेका गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले प्रहरीको गलत बुझाईले सर्बसाधारण जनताले दुख पउने गरेको भन्दै आवश्यक परेको खण्डमा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रममा प्रजिअ रिजाल र प्रहरी उपरिक्षक राठौर लाई स्वागत समेत गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष बिष्टको सभाध्यक्षमा भएको कार्यक्रमा हेटौडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्ले, विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।