मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालमा दक्ष जनशक्तिको अभावमा उत्पादन र रोजगारीको क्षेत्रमा असर परेको बताउनुभयो । श्रमबजार सुचना सम्बन्धी परियोजनाको बागमती प्रदेश स्तरीय कार्यक्रमको आईतबार हेटौंडामा उद्घाटन गर्नुहुँदै प्रमुख प्रसाईले दक्ष जनशक्तीको अभावमा उत्पादन र रोजगारको क्षेत्रमा असर परेको बताउनुभयो ।

प्रमुख प्रसाईले नेपालमा निजी क्षेत्रले ८० प्रतिशत भन्दा बढी रोजगार दिने सामथ्र्य राख्ने भए पनि निजी क्षेत्र र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटीभीटी) बिचमा तालमेल नहुँदा रोजगारको क्षेत्रमा समस्या सृजना भएको बताउनुभयो । उहाँले सिटीभीटीबाट दिईने तालिमबाट उत्पादित जनशक्ति र उद्योग प्रतिष्ठानलाई आवश्यक शीपयुक्त जनशक्ति बिचको तालमेलले रोजगारीको अवसर दिने अवस्थामा अवरोध सृजना भएको भन्दै उद्योग प्रतिष्ठानको आवश्यक्ता अनुरुप शीप विकास गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रसाईले शीप विकासको क्षेत्रमा निजि क्षेत्रको समेत सक्रिय सहभागिता हुनु पर्नेमा जोड दिनुभयो । उहाँले दक्ष जनशक्ती उत्पादन गरी नेपालमा रहेका कामदारहरुको तथ्याङ्क राखी तालिम प्रदान गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्योगमा दक्ष कामदार अभावका कारण भारत लगायत देशबाट श्रमिक ल्याउनुुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले तालिमका लागि मात्र तालिम प्रदान गर्ने नेपालको परिपाटीको अन्तय गर्नुपर्ने भन्दै युवाहरुलाई स्वारोजगार बनाउने र दक्ष जनशक्ती उत्पादन गर्ने खालका तालिम तथा प्रशिक्षणको जरुरी रहेको बताउनुभयो । उहाँले परियोजनाको माध्यमले उद्योग क्षेत्रमा रहेको श्रम अभावको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल, नेपाल निर्माण व्यवसायी महासंघको साझेदारीमा एक रोजगारदाता नेतृत्व लेवर मार्केट सचिवालय (एलम्स) परियोजनाको बागमती प्रदेशको राजधानी हेटौंडामा सुरुवात गरिएको हो । श्रम बजारको माग अनुसार रोजगारदाता संघहरुले समन्वयात्मक रुपमा श्रमबजार सुचना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न परियोजनाको सुरुवात गरिएको बताईएको छ । परियोजनाले राष्ट्रिय पेशागत वर्गीकरण मापदण्डको विकास गर्ने, श्रमबजार सुचना प्रणालीको विकास गर्ने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकता अनुसार सीपयुक्त जनशक्तीको विकास गर्ने जस्ता कार्यहरु गरिने परियोजनाकार चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सिटिईभीटि) बागमती प्रदेशका निर्देशक टैलेन्द्र आचार्य, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि विष्णु विडारी, घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमित केडिया, नेपाल उद्योग परिसंघ, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, नेपाल निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, उद्योग परिसंघ बागमती प्रदेश संयोजक ऋषिराम घिमिरे, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायतले नेपालमा युवाहरु बेरोजगार रहेको तर दक्षताको अभावमा रोजगारी दिन नसकिएको भन्दै परियोजनाले श्रम सम्बन्धी तथ्याङकगत विवरण तयार पार्ने हुनाले राेजगार र उत्पादकाे क्षेत्रमा सरकार र निजी क्षेत्र दुबैकालागी फाईदाजनक हुने बताउनुभयो । कार्यक्रममा उद्योग संघ, होटल संघ, निर्माण व्यवसायी संघ, दुग्ध संघ लगायतका संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।