हेटौंडा । बागमती प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित १६ औं गणतन्त्र दिवस भब्य रुपमा मनाउने भएको छ । मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षता बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रको उपलब्धिलाई जनता समक्ष पुर्‍याउन विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाउन लागिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरि विभिन्न कार्यक्रम गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार, बैठकले यही जेष्ठ १४, १५ र १६ गतेसम्म रक्तदान, सरसफाई, दिपावली, राष्ट्रिय झण्डा फहराउने कार्यक्रम गरिनेछ । साथै, `गणतन्त्रको १५ वर्ष : अवसर र चुनौती´ शीर्षकमा लेखन प्रतियोगिता र सञ्चार माध्यममार्फत अन्तरक्रिया कार्यक्रम गरी गणतन्त्र दिवस २०८० भव्य रुपमा मनाउने निर्णय गरिएको हो ।
दिवसको दिन जेष्ठ १५ गते बिहान हेटौंडाको बुद्ध चोकबाट प्रभातफेरी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर समारोहको आयोजना गरि मनाइने छ । प्रमुख अतिथि प्रदेश प्रमुख यादवचन्द्र शर्मा रहने उक्त समारोहमा मुख्यमन्त्रीले सम्बोधन गर्नेछन् ।