हेटौंडा – नेपालमा आईतबार कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा. समीर कुमार अधिकारीले पछिल्लो समय गरिएको जिन सिक्वीन्सीङको नतिजा अनुसार ३२ नमूनामध्ये २८ मा ओमिक्रोन संक्रमण देखिएको जानकारी दिनुभयो । एस जिन पोजेटिभ भए पनि परिक्षण गरिएका मध्ये ८८ प्रतिशत ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो । यस नतिजाले विश्वव्यापी अवस्था जस्तै नेपालमा पनि डेल्टा भेरियन्टको सङ्क्रमणलाई ओमिक्रोन भेरियन्टको सङ्क्रमणले प्रतिस्थापन गदै गएको पुष्टि हुने अधिकारीले बताउनुभयो ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज थप ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । १३ हजार ३ सय ७७ नमूनाको पिसिआर परिक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमूनाको एन्टीजेन परिक्षण गर्दा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज १ हजार ४ सय १६ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ । हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् ।











