मकवानपुर – मकवानपुरमा खोप अभियान सफल बनाउन सबै क्षेत्रले सकृयता बढाएका छन् । यसै क्रममा कोरोना बिरुद्ध मास्क अभियान, सचेतनालगायतका कार्यमा सकृयता देखाएको सामुदायिक प्रहरीले खोप अभियानमा समेत सहभागिता जनाएको छ । कोरोना बिरुद्ध खोप अभियान सफल बनाउन आईतबारबाट सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । खोप अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुभारम्भ गर्नुभयो । केन्द्रका अध्यक्ष राम बिष्टलाई खोप, सेनिटाइजर लगाएत सामाग्री हस्तान्तरण गर्दै मन्त्री लामाले अभियान शुभारम्भ गर्नुभएको हो ।
मन्त्री लामाले सर्वसाधारण कोरोनाविरुद्धको खोप खोज्दै भौतारिने भन्दा पनि खोप अभियान समुदायमै पुग्नुपर्छ भन्ने अवधारणाका साथ प्रदेश सरकार अभियानमा लागेको बताउनुभयो । उहाँले सरकारको प्रयासमा सरकारी निकायसंगै सामाजिक संघ संस्था र नागरिक समाजको सहकार्यले चैतसम्ममा सबैलाई खोप लगाउने अभियान सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । सबैको सहकार्यबाट कोरोना संक्रमणको जोखिम न्यूनिकरणमा सहयोग हुने भएकाले खोप नलगाउनु भएका सबैलाई खोप अभियानमा सहभागिताका लागि मन्त्री लामाले आग्रह गर्नुभयो । स्थानीय प्रशासन, सामुदायिक प्रहरी सेवा केन्द्र, विभिन्न संघ संस्थालगायतले खोप अभियानमा देखाएको सक्रियताको मन्त्री लामाले प्रशंसा गर्नुभएको छ । सो क्रममा मन्त्री लामाले चाडै नै बागमती प्रदेशलाई पूर्ण खोप युक्त घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।
केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायब उपरिक्षक जयश्वर रिमाल, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक अबिनाश अधिकारी, केन्द्रका समंरक्षक आनदंराम पराजुली निवर्तमान अध्यक्ष कुमार पौडेल लगाएत सामाजिक तथा राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिती थियो । तीन दिन सम्म सञ्चालन हुने खोप अभियानमा सर्वसाधारण, पूर्व प्रहरी, फ्रन्टलाईनर, औद्योगिक क्षेत्र प्रवेश गर्ने सवारी चालक लगायतलाई कोरोना विरुद्धको पहिलो मात्रा खोप विषेश प्राथमिकता लगाइने सेवा केन्द्रका सचिवालय सदस्य नबराज कोइरालाले जानकारी दिनुभयो । उहाँले आवश्यकता अनुसार अभियान संचालनको अवधी थपिने समेत बताउनुभयो ।