मकवानपुर – बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सवारी दुर्घटनाका घाइतेहरुको प्राथमिक उपचारका लागि प्रदेशका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग गरेको छ । मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री निमा लामा र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेको हो । उपकरण सहयोगका लागि ५० लाख रुपैंया बजेट विनियोजन भएको केन्द्रका निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो । निर्देशनालयले प्यासेन्ट मोनिटर, अक्सिजन कन्सर्नट्रेटर, इसिजि मेसिन, व्हिल चियर, बेड, स्टेचर, अक्सिमिटर लगायतका उपकरण सहयोग गरेको हो ।

सहयोग सामग्री हस्तान्तरण गर्नुहँर्दै मन्त्री लामाले प्रदेशमा दुर्घटनाको दर बढेकाले दुर्घटनामा घाइतेहरुको जीवन रक्षाका लागि उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुर्घटनाका घाइतेहरुलाई समयमै उद्धार र प्राथमिक उपचारका लागि मन्त्रालयले उपलव्ध गराएको उपकरणको सदुपयोग गर्न समेत सुझाव दिनुभयो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई सबल बनाउन निरन्तर सहजीकरण एवं सहयोगका लागि काम गरिरहेको र यसलाई निरन्तरता दिने बताउँदै सेवा प्रवाहलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, निक साइमण्ड इष्टिच्युटका कार्यकारी अधिकृत अनिलबहादुर श्रेष्ठ, विभिन्न स्थानीय तहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।











