मकवानपुर– बागमती प्रदेशका १३ जिल्लामा पहिलो चरणको कोरोना खोप ५५ हजार ८ सय ७८ जनाले लगाइसकेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयद्वारा शुक्रबार हेटौंडामा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा प्रदेशका ४९ वटा खोप केन्द्रहरुबाट पहिलो चरणमा ५५ हजार ८ सय ७८ जनाले खोप लगाइसकेको निर्देशक रमेश प्रसाद अधिकारीले जानकारी दिनुभएको हो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सहयोगी, सफाइकर्मी, विमानस्थलमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा क्रियाशील व्यक्तिहरु, ज्येष्ठ नागरिक लगायतले हालसम्म खोप सेवा लिएको उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार खोप सुचारु भएको नवौं दिनसम्म आइपुग्दा खोप लगाएका २ जनालाई गम्भिर स्वास्थ्य समस्या देखिएको, तर, उपचार पश्चात उनीहरुको अवस्था अहिले सामान्य रहेको छ । यस्तै तीनसय ३४ जनामा भने खोपले सामान्य असर देखाएको निर्देशक अधिकारीले जानकारी दिनुभयो । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखिएको उहाँले बताउनुभयो ।











