मकवानपुर– हेटौंडामा सम्पन्न पहिलो संस्करणको भिडोल हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लबले कब्जा गरेको छ । शुक्रबार सम्पन्न फाईनल खेलामा सेन्ट्रल कलेज बीएफसी, भरतपुरलाई एक का बिरुद्ध दुई गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
हेटौंडा–१० स्थित वन विज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको निकैनै प्रतिष्पर्धात्मक खेलामा बीएफसीका जर्सी नम्बर १४ का रन्जित आलेमगरले खेलको ५७ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, खेलको ६ं०औ मिनेटमा विजय युथका लागि सन्त गुरुङले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । यसैगरि खेलमा ६६ औं मिनेटमा विजय युथले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै विजय युथका रुपक केसीले टिमलाई उपाधि दिलाए । खेलमा विजयी युथका शन्त गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
उपाधी हात पारेको विजय युथले नगद ३ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता भरतपुरले १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजयी युथका रुपेश केसी घोषित भएका थिए । यसैगरि प्रतियोगितामा विजय युथका उत्कृष्ट गोलरक्षक अशोक बराल, डिफेन्डर सुरज विष्ट, मिडफिल्डर विश्व अधिकारी, फरवार्ड बिमल राना घोषित भएका थिए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता भने सेन्ट्रल कलेज विएसी, भरतपुरका जोनोस ग्वोरी भएका थिए । उनले प्रतियोगिता भर ५ गोल गरेका थिए । माघ १६ गतेबाट शुरु भएको प्रतियाेगितामा १० वटा टीमकाे सहभागीता थियाे ।