file photo

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको कहरबाट नेपाल सहित विश्वले मुक्ति पाओस भन्ने कामना गर्नुभएको छ । २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री पौडेलले कोरोनाको कहरबाट नेपाल सहित विश्वले मुक्ति पाओस भन्ने कामना गर्नुभएको हो ।
मुख्यमन्त्री पौडेलले सन्देशमा कोरोनाको कहरले विश्वलाई नै सताइरहेको वर्तमान अवस्थामा भगवान बुद्धको जन्मभूमि नेपाल पनि त्यसबाट अछुतो हुन नसकिरहेको भन्दै आजको यो पवित्र दिनमा यो कहरबाट नेपाल सहित विश्वले मुक्ति पाओस भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज भन्दा करिब २६ सय वर्ष पहिले ईशापूर्व ५४३ मा नेपालको लुम्बिनी स्थित कपिलवस्तुमा बैशाख शुक्ल पुर्णिमाको दिन पिता राजा शुद्वोधन र माता मायादेवीको सन्तानको रुपमा जन्मनु भएका भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेको, महाभिनिष्क्रमण (गृह त्याग) गरेको र महापरिनिर्वाण (देह त्याग) गरेको दिन पनि आजकै दिन अर्थात बैशाख शुक्ल पूर्णिमा नै रहेकोले आजको दिनलाई बुद्ध जयन्तीका रूपमा मनाउने गरिएको उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले शान्तिका अग्रदुत बुद्धले मानव हित र विश्वशान्तिका लागि दिनुभएको हिंसा नगर्नु, असत्य नबोल्नु, कसैको धन सम्पत्ति चोरी नगर्नु, ब्रम्हचर्य व्रतको पालना गर्नु र आवश्यक भन्दा बढी धनको संग्रह नगर्नु भन्ने प्रमुख पाँच उपदेश बाहेक बुद्धका अन्य हजारौं जीवनोपयोगी उपदेशहरु रहेको उल्लेख गर्नुभएको छ । उहाँले बुद्धलाई हिन्दु तथा जैनहरुले समेत विभिन्न अवतारको रुपमा पुज्ने र सम्मान गर्ने साथै अन्य धर्मावलम्वीहरुले शान्तिदुतका रुपमा सम्मान गर्ने तथा विभिन्न जाती समुदायहरुले आजको दिनलाई उभौली पर्वको रुपमा समेत मनाउने गरेको भन्दै सम्पूर्ण आमाबुबा, दिदीबहिनी, दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।