मकवानपुर । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले आमनागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ । शनिबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नागरिकहरूको उपचारसंगै समग्र स्वास्थ्य क्षेत्रप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभयो ।
मन्त्री बस्नेतले वर्तमान सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्ने रणनीतिका साथ काम गरिरहेको बताउनुभयो । कमजोर आर्थिक अवस्थाको कारण उपचारमा कोहि बञ्चित हुनुनपर्ने भन्दै नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको दावी गर्नुभयो । “कुनै पनि नागरिकले उपचार अभावमा मृत्यु वरण गर्नु पर्दैन । सरकारले नागरिकहरूको सहज सेवा प्रवाहका लागि निर्देशन दिइसकेको छ । सोही अनुसारको व्यवस्था मिलाउन सरकारी र निजी दुवै अस्पताललाई निर्देशन दिइएको छ । वर्तमान सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने रणनीति लिएको छ ।’ उहाँले भन्नुभयो ।
देशैभरका अस्पतालहरुमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन भइरहेको बताउँदै उहाँले उक्त सुविधा लिन नसकेका विपन्न नागरिकको उपचार सरकारले गर्ने बताउनुभयो । ‘हामीले सरकारी तथा नीजी स्वास्थ्य संस्थाहरुलाई जनताको स्वास्थ्य उपचारको लागि सहज र सुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका छौँ’ उहाँले भन्नुभयो चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर अघि बढ्ने तयारी भइरहेको छ ।’ स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधारसँगै कार्यान्वयनमा पनि सरकारले जोड दिएको उहाँले बताउनुभयो ।
मन्त्री बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा भएका समस्याहरू समाधानका लागि अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा प्रवाह सुधारका लागि भौतिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापनमा गम्भीर ढङ्गबाट काम गरिरहेको बताउनुभयो । उहाँले अस्पताल तथा स्वास्थ्य संस्थामा रहेको अपुग दरबन्दी थप गर्ने पहल भइरहेको समेत बताउनुभयो । उहाँले चिकित्सकमाथि पटक पटक आक्रमणको घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो । चिकित्सक र स्वास्थ्यकर्मीहरु माथि भएका आक्रमणमा छानबिन गरी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उहाँको भनाई थियो । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्कालगायत कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता थियो ।