मकवानपुर– बागमती प्रदेश स्वास्थ्य निर्देश्नालयका निर्देशक रमेश प्रसाद अधिकारीले प्रदेशका सबै स्थानीय तहहरुमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिने बताउनुभएको छ । शुक्रबार हेटौंडामा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उहाँले आयुर्वेदमा समेत मानिसहरुको रुची बढ्दै गएकाले सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिने बताउनुभएको हो ।
वैकल्पीक चिकित्सा तथा आयुर्वेदमा आकर्षण बढ्दै गएकाले सबै स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापना गरिने निर्देशक अधिकारीले बताउनुभयो । गत आर्थिक वर्षमा मात्रै प्रदेशभरीमा ४२ वटा नयाँ नागरिक आरोग्य सेवा केन्द्रहरु स्थापना भएको उहाँले बताउनुभयो । यस्तै गाउँ घर क्लिनिकले गाउँ स्तरबाट स्वास्थ्य सेवा प्रदान गरेको बताउँदै निर्देशनालयबाट ग्रामीण स्तरमा महिला समुहमार्फत महिनामा १ पटक स्वास्थ्य सम्बन्धी छलफल गरेर जनचेतना बढाउने कार्य समेत भईरहेको उहाँले बताउनुभयो । मन्त्रालयमार्फत “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” कार्यक्रम संचालन गरेर नागरिकलाई स्वस्थ हुनकालागि स्वस्थ व्यवहार लागु गर्नेपर्नेमा सचेत गराउने काम भएको निर्देशक अधिकारीले बताउनुभयो । कार्यक्रममा निर्देशनालयका शाखा प्रमुख शम्भु काफ्ले निर्देशनालयले गरेका कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
५५ हजार ८ सय ७८ जनालाई कोरोना खोप
बागमती प्रदेशका १३ जिल्लामा पहिलो चरणको कोरोना खोप ५५ हजार ८ सय ७८ जनाले लगाइसकेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जानकारी दिएको छ । अन्तरक्रिया कार्यक्रममा प्रदेशका ४९ वटा खोप केन्द्रहरुबाट पहिलो चरणमा ५५ हजार ८ सय ७८ जनाले खोप लगाइसकेको निर्देशक अधिकारीले जानकारी दिनुभएको हो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सहयोगी, सफाइकर्मी, विमानस्थलमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा क्रियाशील व्यक्तिहरु, ज्येष्ठ नागरिक लगायतले हालसम्म खोप सेवा लिएको उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार खोप सुचारु भएको नवौं दिनसम्म आइपुग्दा खोप लगाएका २ जनालाई गम्भिर स्वास्थ्य समस्या देखिएको, तर, उपचार पश्चात उनीहरुको अवस्था अहिले सामान्य रहेको छ । यस्तै तीनसय ३४ जनामा भने खोपले सामान्य असर देखाएको निर्देशक अधिकारीले जानकारी दिनुभयो । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखिएको उहाँले बताउनुभयो ।