काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताउनुभएको छ । शुक्रवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताउनुभएको हो । उहाँले गठबन्धनले लोकतान्त्रिक मूल्य–मान्यता र दलीय व्यवस्थालाई तोडेको बताउनुभयो । गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्वस्थ, अपवित्र, अप्राकृतिक गठबन्धन रहेको छ राजनीतिक क्षेत्रमा । त्यस गठबन्धनले लोकतन्त्रको मूल्य–मान्यता तोडेको छ । दलीय प्रणाली, दलीय व्यवस्था, त्यसका सञ्चालन विधि, ती कुरालाई तोडेको छ । र एउटा अनुशासनहीन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको छ । अवलम्बन गरेको छ । यो धेरै गम्भीर कुरा हो लोकतान्त्रिक आन्दोलनका लागि । उहाँले नेपालको चुनाव पद्धति अस्थिरता जन्माउने खालको भएको पनि बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारमाथि विभिन्न खालका षड्यन्त्र भएको उल्लेख गर्दै सरकार निर्माणताका नै एमालेबाहेकको सरकार बनाउने प्रयास गरिएको पनि स्मरण गर्नुभयो ।











