हेटाैंडा, जेष्ठ २७ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । लिग-२ अन्तर्गत चौथो श्रृङ्खलाको अन्तिम खेल आजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे खेल हुँदैछ । यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ । पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो । हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् । जसमा नेपालले ३ खेलमा जीत हासिल गरेको छ भने ३ खेलमा नेदरल्यान्ड्सले जीत दर्ता गरेको छ ।











