हेटाैंडा– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । विभागले आगामी वर्षात्देखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिएकाे छ । यअसघि विभागले वर्षात, हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ ।

समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको विभागले जनाएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताउनुभयाे । ‘अरू देशमा यो प्रविधि अहिले पनि छ’, उहाँले भन्नेनुभयाे । ‘अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौँ ।’ उहाँले चुरे क्षेत्र चट्याङको बढी जोखिममा रहेको उल्लेख गर्नुभयाे । कोभिड–१९ महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष काम सक्ने प्रयास भइरहेको उहाँले बताउनुभयाे ।