मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पोडेलले महिला अधिकारको पक्षमा आफु निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय बेटी सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले महिलाका अधिकारका पक्षमा आफु निरन्तर लागिपरेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले महिला र पुरुष मिलेमा मात्र समृद्ध नेपाल वन्ने भन्दै महिलाहरु समेत सक्षम बनेर प्रतिस्पर्धामा आउनु पर्ने बताउनुभयो । उहाँले केही समय महिलाका लागि आरक्षण दिईए पनि सधै आरक्षणमा भन्दा पनि सक्षम बनेर प्रतिस्पर्धामा आउनुपर्ने वताउनुभयो । महिलाहरु अन्य व्यक्ति माथि आश्रित हुनु भन्दा उत्पादनसंग जोडिएर आत्म निर्भर बन्नु पर्ने उहाँको भनाई थियो । मुख्यमन्त्री पोडेलले बागमती प्रदेश सरकारले एसीड प्रभावित महिलालाई रोजगारी दिने समेत बताउनुभएको छ । उहाँले एसीड प्रभावितहरुलाई संघीय सरकार रोजगारी दिने भनेपनि शैक्षिक योग्यताका आधारमा स्थानीय र प्रदेश सरकारले समेत रोजगारी दिन सक्ने वताउनुभयो ।
मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा तेस्रो राष्ट्रिय बेटी सम्मेलन सुरु गरिएको हो । समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिनुभयो । सम्मेलनमा देशभरबाट १ सय जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहेका छन् । यसअघि प्रदेश–१ मा पहिलो र प्रदेश–२ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ ।
मुलधार महिला सेवा केन्द्रको आयोजनामा लैङ्गिक बिभेद बुझी देउ, हिंसा होइन खुसी देउ, भन्ने नाराका साथ आयोजित तेस्रो ऐतीहासिक बेटी सम्मेलनमा पुर्व राज्यमन्त्री करिमा बेगम, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, एसीड आक्रमणबाट प्रभावित भएका मुस्कान खातुन, बिन्दवासीनी कंशाकार लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।