काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको हाल सम्मको तयारीका बारेमा निर्वाचन आयोगसँग जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जानुभई निर्वाचन तयारीका बारेमा जानकारी लिनुभएको हो ।
आयोगका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीलाई निरन्तर अघि बढाउन निर्देशन दिनुभएको छलफल पछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था सहित श्रोत साधनको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । आयोगले गरिरहेको निर्वाचनको तयारी सन्तोषजनक रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले आयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका लागि आयोगले आवश्यक तयारी गरिरहेको र तोकिएको मितिमा निर्वाचन गर्न आयोग तयार रहेको जानकारी गराउनु भएको थियो । निर्वाचनको तयारीका बारेमा जानकारी लिन सरकारका तर्फबाट प्रधानमन्त्री ओली, उप–प्रधानमन्त्री ईश्वर पोखरेल, अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ निर्वाचन आयोग जानुभएको थियो । सरकारले गत पुस ५ गते आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको थियो ।