काठमाडौँ– चालु आर्थिक वर्षको छ महिनाको अवधिमा मुलुक भित्र हुने विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भई ४९५ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १७.७ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा नेपालको कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भई ६० अर्ब ८० करोड पुगेको नेपाल राष्ट्र बैकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५०.० प्रतिशतले कमी आएको छ ।
छ महिनाको मुलुकको आर्थिक अवस्थाको समीक्षा प्रतिवेदन सोमबार सार्वजनिक गर्दे नेपाल राष्ट्र बैकले आर्थिक वर्ष २०७७–७८ को ६ महिनामा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६६१ अर्ब २५ करोड कायम भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी भएको छ । आर्थिक वर्ष २०७७–७८ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ५।८ प्रतिशतले घटेर ६०० अर्ब ४५ करोडमा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।