मकवानपुर – मकवानपुर जिल्लास्तरिय प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता हेटौंडामा शनिबारबाट सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा जिल्लाका दश वटै स्थानीय तहको सहभागीता हुने प्रतियोगिताको उद्घाटन आयोजक जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले गर्नु भएको हो ।

हेटौंडा–४ स्थित हुप्रा चौरमा सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा हेटौंडा उपमहानगरपालिकाले विजयी सुरुवाात गरेको छ । हेटौंडा उपमहानगरपालिकाले मनहरी गाउँपालिकालाई सडनडेथमा २–१ गेल अन्तरले पराजीत गर्दै विजयी सुरुवात गरेको हो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गीएपछि ट्राईबे्रकरमा धकेलिएको खेल ३–३ गोलको बराबरी भएपछि खेलको नजिता सडेन डेथबाट गरिएको थियोे । प्रतियोगिताको म्यान अफ दि म्याच हेटौंडाका जर्सी नम्बर १ का खेलाडी सफल तिमल्सिना घोषित भएका थिए । हारसँगै मनहरी गाउँपालिका प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा मकवानपुरका १० वटै पालिकाको फुटबल टिमको सहभागिता रहेको छ । नकआउट प्रणालीमा भएको प्रतियोगितामा भोली (आईतबार) २ खेल हुने छ । प्रतियोगितामा भेली पहिलो खेल कैलाश गाउँपालिका र बकैया गाउँपालिका तथा दोस्रो खेल भीमफेदी गाउँपालिका र राक्सिराङ गाउँपािलका बिच हुने आयोजकले जनाएको छ ।

जिल्लाका दशवटा स्थानीयतहले सहभागिता जनाएको प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । भने, सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा विधागत अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, बागमती प्रदेश युवा परिषदका कार्याकारी उपाध्यक्ष सन्तोष चौलागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतको आतिथ्यता रहको थियो ।