हेटौंडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेले आफु मुख्यमन्त्री हुँदा आफ्नो कार्यकालमा गरेको कामहरुको स्मरण गरेका छन् । हालको नेकपा एकिकृत समाजवादी,नेकपा माओवादी र नेपाली कांग्रेस सत्ता गठबन्धन सरकारको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले दलबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा बनाएपछि शनिबार पूर्वमुख्यमन्त्री पौडेलले आफ्नो कार्यकालको स्मरण गर्दै सामाजिक संजालमा स्टाटस लेखेका छन् ।

पूर्वमुख्यमन्त्री पौडेलले आफुले विपन्न नागरिकहरुले गाँस काटेर तिरेको करको दोहन गर्नेगरी जम्बो मन्त्रिपरिषद बनाउनु हुँदैन भनेर साँढे तीन वर्षसम्म जम्मा ७ सदस्यीय मन्त्रिमण्डलले विकासका हरेक आधारहरु तयार पारेको स्मरण गरेका छन् । पौडेलेले लेखेका छन्ःतर आज प्रदेशबासीको दुर्भाग्य, १४ महिनाको सरकारले १४ वटानै मन्त्रालय अनि अझै कति हो कति मन्त्री, राज्यमन्त्री, अनि सहायकमन्त्रीहरु थपेर प्रदेश सरकारलाई आर्थिकरुपमा ठूलो व्ययभार थपेर अगाडि बढ्दै गरेको देखेर साच्चैनै विछिप्त भएको छु ? प्रदेश सरकारप्रति नागरिकहरुको धारणा सकारात्मक हुननसकिरहेको वर्तमान अवस्थामा राजनीतिक व्यवस्थाप्रतिनै वितृष्णा पैदा हुनेगरी राज्य दोहन गर्ने अनि लुटतन्त्र मच्चाउने वर्तमान सरकारको घोरभत्र्सना र निन्दा गर्दछु ।

यस्तो छ पूर्वमुख्यमन्त्री पौडेलेको स्टाटस:

प्रदेश सभामा प्रतिनिधित्वगर्ने ११० जना सांसदमध्ये बहुमत सांसदहरुको समर्थनमा बनेको देशकै पहिलो प्रदेश सरकारको नेतृत्वगर्दै पहिलो मुख्यमन्त्रीकारुपमा सपथ ग्रहण गरिरहँदा मेरो मनमा राज्यस्रोतको दोहन रोक्न अधिकतम् प्रयासगर्दै मितव्ययी आर्थिकनीति लागूगर्न पाए हुन्थ्यो भन्ने लागि रहेकोथियो ।
मुख्यमन्त्री हुनासाथ नयाँगाडी आवश्यक परेको भन्दै मातहतबाट प्रस्ताव हुँदा मैले गाडीकिन्दा हुने करोडौं रुपैया विकासमा लगाउनुपर्छ म पूरानो गाडीमा चड्छु भनेर आफै प्रधानमन्त्री कार्यालय गएर त्यहा धेरैवर्षदेखि बिग्रिएर थन्किएर बसेको गाडी ल्याइ मर्मत गरेर कार्यकालभरी (एउटा विद्युतीयबाहेक) त्यही गाडी चढे ।
मन्त्रिपरिषद विस्तार गरेर धेरै साथीहरुलाई मन्त्री बनाउनु पर्ने साथीहरुको चाहनालाई गरिब अनि विपन्न नागरिकहरुले गाँस काटेर तिरेको करको दोहन गर्नेगरी जम्बो मन्त्रिपरिषद बनाउनु हुँदैन भन्दै साँढे तीन वर्षसम्म जम्मा ७ सदस्यीय मन्त्रिमण्डलले विकासका हरेक आधारहरु तयार बनायौं ।
तर आज प्रदेशबासीको दुर्भाग्य, १४ महिनाको सरकारले १४ वटानै मन्त्रालय अनि अझै कति हो कति मन्त्री, राज्यमन्त्री, अनि सहायकमन्त्रीहरु थपेर प्रदेश सरकारलाई आर्थिकरुपमा ठूलो व्ययभार थपेर अगाडि बढ्दै गरेको देखेर साच्चैनै विछिप्त भएको छु ?
प्रदेश सरकारप्रति नागरिकहरुको धारणा सकारात्मक हुननसकिरहेको वर्तमान अवस्थामा राजनीतिक व्यवस्थाप्रतिनै वितृष्णा पैदा हुनेगरी राज्य दोहन गर्ने अनि लुटतन्त्र मच्चाउने वर्तमान सरकारको घोरभत्र्सना र निन्दा गर्दछु । साथै आम प्रदेशबासी नागरिकहरुप्रति मेरो कार्यकालमा सम्पन्न भएका कार्यहरुको संछिप्त विवरण पस्तुत गर्दछु ।
स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि परेको प्रदेश राजधानी हुटौंडामा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापित भई सञ्चालनमा आएको छ । यसले प्रदेशको स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरु उत्पादन गर्न तथा प्रदेशमा सञ्चालन भएका अस्पतालहरुलाई व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
नसर्ने तर प्राणघातक एवं दीर्घरोगका कारण प्रदेशका कयौं नागरिकहरुले ज्यान गुमाउनु परेको तथा रोगले थलिएर बस्नुपरेको अवस्थालाई मनन्गर्दै सरकारले जेष्ठ नागरिकहरु तथा दलित एवं पछि परेका समुदायको निशुल्क स्वास्थ्य परीक्षण गर्ने मुख्यमन्त्री जनता स्वस्थ्य परिक्षण कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिरहेको छ । शहिद गंगालाल अस्पताल संगको सहकार्य मा बागमती प्रदेशका सरकारी अस्पतालहरुमा हृदयघात भएर आएका बिरामीहरुको उपचारमा सहजीकरण को सरुवात गरिएको छ । यो सेवा अब बागमती प्रदेश बाट निशुल्क रुपमा प्राप्त हुदै छ, यो बागमती प्रदेशको एक ऐतिहासिक कदम हो जसले हृदयघातबाट आफ्ना जनतालाई बचाउछ । त्यसबाहेक क्यान्सर तथा मृगौला लगायतका बिरामीलाई केन्द्र सरकारले उपलब्ध गराउने उपचार खर्च रकममा थप पचास हजार सहायता उपलब्ध गराउने ब्यवस्था गरिएको छ ।
अस्पताल सुदृढीकरण कार्यक्रम संचालन गरिएको छ । एक विद्यालय एक नर्स कार्यक्रम अनुरूप प्रदेश भित्रका १ सय १९ वटै स्थानीय तहका कम्तीमा एक सरकारी माध्यामिक विद्यालयमा हुने गरी जम्मा ३ सय ५९ विद्यालयमा नर्स कार्यरत रहेकाछन् । सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम अन्तर्गत ३३ सामुदायिक विद्यालयहरुमा बिषयगत प्रयोगशाला स्थापना, ७० सामुदायिक विद्यालयमा इलाइव्रेरी तथा स्माटबोर्ड सहितको आइसीटी ल्याव स्थापना भइसकेको छ भने विभिन्न सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला र ५० वटा विद्यालयमा आइसीटी ल्यावको स्थापनाको कार्यक्रम सञ्चालन भईरहेको छ ।
विद्यार्थी संख्या कमभई गाभिएका तथा विद्यार्थीको घरभन्दा टाढा भएका सामुदायिक विद्यालयहरुलाई स्कुलबस उपलब्ध गराइएको छ । साथैसामुदायिक विद्यालयहरूको शिक्षक दरबन्दीको अभावलाई सहायता प्रदान गर्न शिक्षण सिकाई अनुदान र शिक्षकको पेशागागत विकास कार्यक्रम अन्तर्गत शून्य दरवन्दी भएका करिब ३०० सामुदायिक विद्यालयमा अग्रेजी, गणित र विज्ञान विषय मध्ये कुनै एक विषयमा शिक्षक दरबन्दी अनुदान उपलब्ध गराइएको छ ।
बाबु आमा दुबै नभएका बालबालिकाको संरक्षण गर्न स्थानीय तहमार्फत सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मासिक २ हजार उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रदेशसरकार अन्तर्गतको १३ मध्ये ८ वटा अस्पतालहरूको क्षमता विस्तार गरी आइसियु तथा एचडियु कक्षको व्यवस्था गरिएको छ ।
स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्य संस्था भवन निर्माण गरिएकाछन् । प्रदेश भित्रका अस्पतालहरुको स्तर सुधार कार्यक्रम अनुरूप १३ जिल्लाका स्थानीय तहमा रहेका १७ अस्पताल र स्वास्थ्य चौकीको भवन निर्माण भईरहेको छ ।
त्यस्तै करारमा चिकित्सक नियुक्त गरी स्वास्थ्य क्षेत्रमा तत्काल सुविधा बढाइएको छ भने दीर्घकालीनरुपमा अस्पताललाई सुविधासम्पन्न बनाउन कार्यक्रम लागू गरिएको छ ।
विगतमा ५० बेडको मात्रै रहेको हेटौंडा अस्पताललाई क्षमता वृद्धिगरी ५०० बेड पुर्याउने लक्ष्य राखिएको छ भने हाल ३०० बेड सञ्चालनमा ल्याइएको छ । त्यसैगरी प्रदेशका अन्य अस्पतालहरुको शैयामा व्यापक वृद्धिगरी सोहीअनुसार जनशक्ति व्यवस्थापन गरिएको छ ।
उच्च शिक्षामा शैक्षिक गुणस्तर सुनिश्चितताका लागि सामुदायिक क्याम्पसहरुको भौतिक तथा शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम अन्तर्गत ८० ओटा सामुदायिक क्याम्पसहरुको भौतिक सुदृढीकरण गरिएको छ । ४० सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ ।
“बागमती प्रदेशको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा” अन्तर्गत ३ सय ९८ छोरी बुहारीलाई छात्रवृत्ति प्रदान गरेको छ । चालु आर्थिक वर्षमा पनि ५०० जनालाई उपलब्ध गराइने कार्यक्रम रहेको छ ।
प्रत्येक जिल्लामा एक रङ्गशाला, प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा कभर्ड हल र स्थानीय तहमा खेल मैदानको निर्माण गरिएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रतियोगिताको प्रबद्र्धन गर्न गौरीटार मकवानपुरमा अन्तराष्ट्रिय स्तरको रङ्गशाला निर्माणाधीन रहेको छ ।
त्यस बाहेक प्रदेश सरकारले एक स्थानीय तह एक प्राविधिक विश्वविद्यालय, स्थानीय तहलाई एम्बुलेन्स र वारुणयन्त्र वितरण कार्यक्रम, एकपालिका एक खेल मैदान निर्माण कार्यक्रम लागू गरिएको छ ।
सरकार स्थापनाको शुरुको वर्षमा किसानलाई वितरण गरिएको अनुदान रकमको उचित प्रयोग हुननसकेको भन्ने टिप्पण्ी उठेको हुँदा विगतवर्ष देखिनै अनुदान प्रणालीकै अन्तयगरी कमजोर आर्थिक अवस्था भएका आदिवासी, जनजाती, सीमान्तकृत वर्ग समुदायका लागि लक्षित गरी कृषि तथा साना व्यवसाय गर्नका लागि बढीमा तीन प्रतिशत व्यजदरमा रु एकलाखदेखि दशलाखसम्म बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्थाका गरिएको छ ।
यसरी प्रदेशको समग्र विकासका लागि सुरुङमार्ग, विद्युतीय बस सञ्चालन, पुष्पलाल प्रदेश चक्रपथ जस्ता महत्वकांक्षी योजनादेखि किसानका घरआगनमा पुग्ने साना योजनाहरु सञ्चालन गरी दिगो विकासको योजना अगाडि बढाउँदै, कृषि उत्पादनको बृद्धिगरी प्रदेशलाई आत्मनिर्भर बनाउन तथा अयातलाई न्युनीकरणगरी प्रदेशलाई सक्षम र सवल बनाउन प्रशस्त आधारहरु तयार गर्दागर्दै देशको राजनीतिक अवस्थाका कारण पूर्ण कार्यकाल सरकार सञ्चालन गर्न नपाई बीचमै सत्ताहस्तान्तरण गर्नुपरेको सर्वविदितै छ । मैले आफ्नो कार्यकाललाई अत्यन्तै प्रतिकूलताकाबीच अनुकूल बनाउँदै यात्रा तय गरेकोमा म आफू पूर्णरुपमा सन्तुष्ट छु । जिम्मेवारी निर्वाहका क्रममा मैले निभाएको भूमिका प्रति गौरवान्वित पनि छु ।