मकवानपुर- कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता दिएको ३ नम्बर प्रदेश सरकारले काठमाण्डौ उपत्यका बाहेक प्रदेशका १० जिल्लामा शीत भण्डार निर्माण गर्ने भएको छ । कृषकलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने तथा प्रोत्साहन गर्ने उदेश्यका साथ फलफूल तथा तरकारी भण्डारण गर्न शीत भण्डार निर्माण गर्न लागिएको हो । प्रदेशका केही जिल्लामा शीत भण्डार निर्माणको काम सुरु भएको छ भने मकवानपुरको थाहा नगरमा शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
३ नम्बर ३ प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष १० वटै जिल्लामा डीपीआर निर्माण गरेर चालु आर्थिक वर्षमा निर्माण गर्नका लागि ४५ करोड रुपैयाँ वजेट छुट्याएर काम गर्न सुरु गरेको छ । प्रदेश १० जिल्लामा शित भण्डार निर्माण गर्ने योजना वनाएको प्रदेश सरकारले पाँच जिल्लामा भने कामनै सुरु भएको प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले वताउनुभएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा भने शीत भण्डार निर्माणका लागि माग नभएकाले चालु आर्थिक वर्षमा निर्माण गर्न नसकिने उहाँले जानकारी दिनुभएको छ । प्रदेशका उपत्यका बाहेकका जिल्लामा हरेक जिल्लामा एक एक वटा निर्माण गरिने भए पनि दोलखा, नुवाकोट र सिन्धुपाल्चोकमा भने दुई– दुईवटा निर्माण गरिने मन्त्री लामाले वताउनुभयो ।