हेटौंडा — कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभावले तड्पिएको हेटौंडा अस्पतालले अहिले भने दैनिक २ सय ५० सिलिन्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने क्षमता बनाएको छ । शनिबारबाट दैनिक १ सय २५ सिलिन्डर अक्सिजन उत्पादन हुने गरी प्लान्ट सञ्चालनमा आएको हो ।

यसअघि उद्योग संघ मकवानपुरले १ सय १० र हेटौंडा उपमहानगरपालिकाको पहलमा घर जग्गा व्यवसायी मकवानपुरले दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट जडान गरिदिएका थिए । हाल अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको लागतमा दैनिक १ सय २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको जानकारी दिँदै अस्पतालका अध्यक्ष राजेश प्रसार्इंले भने, ‘अव हेटौंडा अस्पताललाई अक्सिजनको समस्या पर्दैन ।’ यसअघि अक्सिजनको अभावमा कोरोनाका बिरामीलाई वीरगन्ज र भरतपुर रेफर गर्नुपर्ने बाध्यता थियो ।
अस्पतालमा अक्सिजन ल्याउन ठूलै सोर्सफोर्स लगाउनुपरेको उल्लेख गर्दै अध्यक्ष प्रसाईंले भने, ‘अब त्यस्तो समस्या व्यहोर्नु पर्दैन ।’ हेटौंडा अस्पतालमा अहिले कोरोनाका ९ जना संक्रमित उपचाररत छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको उक्त अस्पतालमा भेन्टिलेरसहित २० बेड तयारी हालतमा राखिएको छ । तेस्रो लहरमा कोरोनाका बिरामीलाई शय्याको अभावले अन्यत्र रेफर गर्न नपरेको अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाले बताए ।

अस्पतालमै संक्रमित सुत्केरी
हेटौंडा अस्पतालको क्षमता र गुणस्तर सेवा पनि बढ्दै गएको छ । अस्पतालले संक्रमित गर्भवतीलाई सुरक्षित ढंगले सुत्केरी गराउन थालेको छ । यसअघि कोरोना संक्रमित गर्भवतीलाई भरतपुर र वीरगन्ज पठाउने गरिएको थियो ।
अस्पतालले माघ १ देखि संक्रमित गर्भवतीलाई अस्पतालमै सुरक्षित ढंगले सुत्केरी गराउन थालिएको अस्पतालका कोभिड विभागका फोकल पर्सन प्रशान्त बिडारीले बताए । उनले यस अवधिमा २० जना संक्रमित गर्भवतीलाई सुत्केरी गराइसकेको जनाए । ‘संक्रमण पुष्टि भएकी गर्भवतीलाई सुत्केरी गराउन अलग्गै कोठा, स्वास्थ्यकर्मी चाहिन्छ,’ हेटौंडा अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रामकाजी महर्जनले भने, ‘संक्रमितका लागि पहिले छुट्टै अप्रेसन कक्ष र सुत्केरी कक्ष थिएन । तर अहिले अलग्गै व्यवस्था गरिएको छ, त्यसैले सक्रमितलाई सुत्केरी गराउन सम्भव भयो ।’ यो अस्पतालमा अहिले दैनिक १० देखि १५ जनासम्म सुत्केरी हुने गरेका छन् । त्यसमा एक, दुई जना संक्रमित सुत्केरी हुने गरेको अस्पतालले जनाएको छ ।

इकान्तिपुर