मकवानपुर– नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा मकवानपुरका पर्यटकीय स्थानको जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटकलाई सहजीकरण गर्ने उद्देश्यका साथ यो सङ्क्षिप्त पर्यटकीय स्थानहरूको चिनारी प्रस्तुत गरेका छौं । यस लेखका माध्यमले  मकवानपुरगढी गाउँपालिकामा अवस्थित मकवानपुरगढीकाे बारेमा बुझ्न र घुम्न सहज होस भन्ने हाम्रो धारणा हो ।

आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुरगढी हो । परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुरगढीले तत्कालीन समयको सामरिक महत्व तथा सुरक्षात्मक दूरदर्शिता झल्काएको देखिन्छ । यस नजिकै रहेको ऐतिहासिक ढुङ्गेगढी र रानीगुफाको अवलोकन आफ्नै महत्व रहेको छ । यस क्षेत्रमा हालै स्थानीय तामाङ्ग र मगर संस्कृति झल्कने नाचँगान सहितको घरबास (होमस्टे) शुरुवात भएको छ । हामी मकवानपुरमा हरेक पर्यटकिय स्थलहरुको जानकारी निरन्तर प्रस्तुत गर्दै जाने छौं ।