हेटौंडा– आज देशभर २ हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देशभर १० हजार १ पिसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा ९ सय ८७ , ललितपुरमा १ सय ६ र भक्तपुरमा ८१ गरी उपत्यकामा मात्रै १ हजार १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा २ सय ७७, रुपन्देहीमा १ सय २५, मोरङमा १ सय १३, पर्सामा ७९, कैलालीमा ७३ जना संक्रमित भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।
हाल देशभर १२ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । कोरोना सङ्क्रमणका कारण आज थप ५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय १७ पुगेको छ । कोरोना सङ्क्रमणबाट आज २ सय ५२ जना निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।