मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचार रहित हुने बताउनुभएको छ । यो सरकारले सुशासन दिने कोसिस गर्ने भन्दै निश्चित अवधि भित्र जनताले राखेको कुरालाई समयमै समाधान गरिने उहाँले बताउनुभयो । ’सरकारले समाजवादको कार्यक्रमलाई अघि सारेर अघि बढ्नेछ । सर्वहारा, श्रमजीवी, मजदुर किसान तथा गरिब जनताको पक्षमा प्रदेश सरकारको कार्यक्रम अघि सार्नेछ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । अघिल्लो सरकारको गलत काम र अल्पमतमा सरकार परेपछि रकमसम्बन्धी निर्णय गरेको भए त्यो निर्णय उल्टिने उहाँले बताउनुभयो ।
अहिलेको नयाँ सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन केही समय लाग्ने भन्दै मन्त्रालय थप हुने पाण्डेले बताउनुभयो । मुख्यमन्त्रीको सपथ लिएपछि सञ्चारकर्मीसँगै बोल्दै पाण्डले केन्द्रमा भएको गठबन्धनको निर्णय अनुसार आफू मुख्यमन्त्री बनेकोले प्रदेश सरकारको नेतृत्व आधा समय या पूरा समय हुने गठबन्धनको निर्णयमा भरपर्ने बताउनुभयो । बागमती प्रदेशको नेतृत्व नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा गर्ने सहमति भए पनि पाण्डेले यसअघि त्यस्तो कुनै सहमति नभएको प्रतिक्रिया दिनुभएको थियो ।
धादिङ क्षेत्र १ (१) बाट एमालेका तर्फबाट निर्वाचित पाण्डे पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता हुनुभएको हो । २०१३ साल जेठ २९ मा गजुरीमा जन्मिनुभएका उहाँले ग्रामीण विकासमा स्नातकोत्तरसम्मको अध्यन गर्नुभएको छ । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न हुनुभएका उहाँ सुरुमा शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेको हुँ,’ उहाँले भन्नुभयो ।
पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति हुनुभएको थियो  । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य हुनुभएका उहाँ धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएर स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
२०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उहाँको भेट झापाली राजबन्दीसँग भएको थियो  । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उहाँ सक्रिय राजनीतिमा लाग्नुभएको थियो । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उहाँलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो  । जेल बस्ने क्रममा उहाँ २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य हुनुभएको थियो । त्यतिबेला उहाँ ४२ दिन जेल बस्नुभएको थियो । पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गर्नुभएको थियो ।