काठमाण्डौ – श्रीलङ्कासँगको दोस्रो टी–२० क्रिकेटमा अस्ट्रेलिया सुपर ओभरमा विजयी भएको छ । सुपर ओभरमा श्रीलङ्काले दिएको ६ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले तीन बलमा भेटायो । निर्धारित ओभरमा खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेको हो ।
यसअघि अस्ट्रेलियाले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रन बनायो । श्रीलङ्काका लागि पथुम निसान्काले ७३ र कप्तान दसुन सनाकाले ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवुडले तीन विकेट लिए ।
यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले जोश इन्ग्लिसको ४८ र कप्तान एरोन फिन्चको २५ रनको मदतमा ६ विकेट गुमाएर एक सय ६४ रन बनायो । अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएकोमा श्रीलङ्काले १८ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । बलिङतर्फ श्रीलङ्काका दुशमन्थ चमीरा र वानिन्दु हसरङ्गाले दुई–दुई विकेट लिए । यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा दुई–शून्यले अघि भएको छ । पाँच खेलको शृङ्खलाका लागि श्रीलङ्का अस्ट्रेलिया भ्रमणमा आएको हो ।