मकवानपुर – सवारी दुर्घटना न्युनिकरण तथा सवारीको गति नियन्त्रणका लागि बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको छ । चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तिब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्न भन्दौ टाइम कार्ड लागु गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमान देखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागु भएकोमा चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखी लागु भएको हो ।
त्यस्तै आजदेखि मुग्लिङ नारायणगढ खण्ड, पुर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडा देखि चितवन सम्म, त्यसैगरी पृथिवि राजमार्गको खानीखोला धादिङ देखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटार देखि काभ्रेमञ्ज्याङसम्म राजमार्गहरुमा टाइमकार्ड लागु गरिएको बागमती प्रदेश प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो । टाइम कार्ड लागु गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाईएको रेग्मीले बताउनुभयो ।