मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र हतियार नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीलाई आग्रह गरेको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु बुझाउन अनुरोध गरिएको हो । बिहीबार गृह मन्त्रालय (सचिवस्तर) को बैठकले गरेको निर्णय अनुसार नै हातहतियार नियन्त्रणमा लिन लागिएको हो । इजाजतपत्र प्राप्त हातहतियारहरु निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् लगत कट्टा गरी फिर्ता हुने सूचनामा उल्लेख छ ।