काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग हुनुभएका नेता कमल थापाले राप्रपा नेपाललाई ब्युँताउनुभएको छ । उहाँले आज एक अपिल जारी गर्दै देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले केही समयको अलमल पछि फेरि आफ्नो घर फर्केको बताउनुभयो ।
“राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति हो ।” उहाँले जारी गरेको अपिलमा भन्नुभएको छ । उहाँले २०७३ सालदेखि बाटो बिराएर पार्टी ठूलो बनाउने नाममा महत्त्वाकाङ्क्षा र सत्ता केन्द्रित रनभुल्लमा पर्यौ भन्नुहुँदै असहज र गलत प्रवृत्तिहरूसँग सम्झौता गर्न थाल्दा करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा निष्क्रिय, प्रभावविहीन हुन पुगेको अपिलमा उल्लेख गर्नुभएको छ ।
राप्रपा नेपाललाई पुनर्जागृत गरी फेरि ठिक ठाउँमा ल्याइपुर्याएको बताउनुहुँदै उहाँले विगतका त्रुटि, कमजोरीहरूबाट पाठ सिकेर फेरी एक पटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने बताउनुभयो । उहाँले राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि “हिन्दु राष्ट्र, सुशासन र समृद्धि” राप्रपा नेपालको मूल एजेन्डा हुने बताउनुभयो । उहाँले जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यता, प्राथमिकता र कार्यनीतिमा हामी समयानुकूल परिमार्जन गर्ने उल्लेख गर्नुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल सक्रियताका साथ सहभागी हुने बताउनुभयो । राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने जनाइएको छ ।












