मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले डेंगु संक्रमण रोकथाम र नियन्त्रणको तयारी सुरु गरेको छ । नगर क्षेत्रमा क्रमिक रुपमा डेंगुको संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले रोकथाम र नियन्त्रणको तयारी थालेको हो ।
हेटौंडामा गत जेठ महिनाबाट देखिएको डेंगु संक्रमण साउनमा मात्रै ५ जनामा देखा परेको छ । हाल नगर क्षेत्रमा डेंगु संक्रमित ९ जना बिरामी उपचारको क्रममा रहेका छन् । डेंगु संक्रमणका विमारी बढ्दै जान थालेपछि उपमहानगरपालिकाले यसको नियन्त्रण तथा रोगथामको लागि भेट्रो निरीक्षक नियुक्त गर्ने तयारी गरेको छ । उपमहानगरभित्र डेंगु संक्रमण कम गर्नका लागि कर्मचारी नियुक्त गरेरै काम गर्न लागेको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षक डेंगु संक्रमण गराउने लामखुट्टेको सम्भावित बास स्थानको खोजी गर्ने र नष्ट गर्ने कार्यमा मात्र परिचालन हुने बताइएको छ । आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले रोगको संक्रमण नियन्त्रणका लागि भेट्रो निरीक्षक नियुक्त गरेर डेंगु नियन्त्रणमा कार्य गर्ने निर्णय गरेको हो ।
उपमहानगरले डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी मकवानपुरसँग सहकार्य गरेर नगर क्षेत्रमा अभियान सञ्चालन गर्ने जनाएको छ । स्थानीय विपद् समितिको बैठकले संक्रमणको आंकलन गरेको स्थान सहित सम्भावित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परीक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयंसेवीका सहित टोल बिकास सस्थालाई परिचालन गरिने निर्णय गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार गत वर्ष हेटौंडा उपमहानगरपालिकामा मात्रै ४ हजार ३४३ जनामा डेंगु संक्रमण भएको थियो भने मकवानपुर जिल्लामा ५ हजार ८५९ जना डेंगु संक्रमणका कारण बिरामी परेको थिए ।









