मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा भोलिबाट हुने भनिएको सडक बिस्तारको काम तत्कालका लागि रोकिएको छ । भोलीबाट हुने भनिएको सडक विस्तारको काम तत्कालका लागि नहुने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यालयले ३५ दिने सूचना निकालेर पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको दाया–बायाँ २५ गज सडक विस्तार गर्ने तयारी गरेको थियो । राजमार्ग विस्तारका लागि कार्यालयले सूचना जारी गरेको समय सीमा आजबाट सकिने भएपनि हेटौंडा बजार क्षेत्रका घरहरु भोली नभत्कने भएका हुन् ।
सडक विस्तार तत्काललाई रोकिने भएको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादबले जानकारी दिनुभयो । घरधनीहरुले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण आफूहरु बाध्य भएर सडक विस्तार गर्न नसक्ने अवस्थामा पुगेको उहँँले बताउनुभयो । सर्वोच्च अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने अभियान प्रभावित भएको यादबले बताउनुभयो ।
‘हामीले सम्पूर्ण तयारी गरेका थियौं । तर, सर्वोच्च अदालतले नै छलफलमा बोलाएपछि काम प्रभावित भएको हो । हेरौं कस्तो आदेश अदालतबाट आउँछ ।’, उहाँले अदालतको आदेश अनुसार निर्णय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले अदालतमा छलफलका लागि आइतबार काठमाडौं पुगेको समेत जकानकारी दिनुभयो । ‘म दुईदिनदेखि यसै विषयमा छलफल गर्न काठमाडौंमा छु । महान्याधिवक्ताको कार्यालयसँग परामर्श गरिरहेको छु । हामीले त्रास फैलाएर सडक विस्तार गर्न लागेका होइनौं ।’, उहाँले भन्नुभयो ।
हेडम्बा न्युजकाे सहयाेगमा