मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले एमालेलाई परास्त गर्न सक्ने तागत कसैसंग नभएको बताउनुभएको छ । नेकपा एमालेको जनवर्गिय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन हेटौंडाको प्रथम नगर अधिवेशनको शनिबार हेटौंडामा उद्घाटन गर्नुहुँदै उहाँले एमालेसंग जनताको तागत भएको र जनताको तागत कहिल्यै परास्त नहुने बताउनुभयो ।

जनताको तागतले जस्तो सुकै गठबन्धनलाई परास्त गर्ने भन्दै उहाँले आसन्न स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टीको रुपमा स्थापित हुने बताउनुभयो । “एमालेसंग लड्ने कसैको तगात छैन, तागत भएको भए एक्लै आउँथे, यो खातापिताहरुको (स्वार्थीहरूकाे) गठबन्धन हाे, काम छैन, निर्वाचनबाट जनताले ठेगान लगाउने छन् ।” उहाँले भन्नुभयो । अहिलेको गठबन्धन र महागठबन्धनले देश बिरोधी र षडयन्त्रकारी काम मात्र गरेको उहँँको भनाई थियो । उहाँले स्वार्थमा तल्लीन गठबन्धन सरकारले एमाले सरकारका पालामा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका उपलब्धीहरुलाई रोक्ने काम मात्र गरेको बताउनुभयो । उहाँले मकवानपुरको स्थास्थ्य क्षेत्रमा आमुल परिर्वतन हुने गरि संचालनमा आएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत गठबन्धनले राजनैतिक स्वार्थ देखाएको भन्दै मकवानपुरे जनताको मतबाट बिजयी भएका हालका गठबन्धनधारीहरु चुप बसेको आरोप लगाउनुहुँदै यसकाे हिसाब जनताले खाेजिरहेकाे बताउनुभयाे ।

उहाँले एमाले सरकारले, बिकास र समृद्धि साथै देशको स्वाधिनताको पक्षमा काम गरेको भन्दै त्यहि कुरा जनता माझ पु¥याउन जरुरी रहेको बताउनुभयो । एमाले सरकारले गरेका काम र एमालेको वैचारिक पक्षलाई जनतामा लैजान भूतपूर्व सेना र प्रहरीहरुको यस संगठनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो । उहाँले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन पार्टीको जनवर्गिय संगठन रहेको हुँदा पार्टी संगठनको काममा क्रियाशिल भई लाग्न निर्देशन दिनुभयो ।

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका जिल्ला उपाध्यक्ष एवम् नगर ईन्चार्ज राम केदार बस्नेतको अध्यक्षताभएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य सम्राट तुम्बाहाम्फे, एमाले जिल्ला सचिवालय सदस्य ईश्वर ढुंगाना, जिल्ला सदस्य सन्तोष पौडेल, नगर कमिटी अध्यक्ष सालिकराम पुडासैनी, संगठनका केन्द्रिय सचीव एवम् बागमती प्रदेश इन्चार्ज सुधिर थापा, जिल्ला कमिटी अध्यक्ष शिव बहादुर थापा, एमाले हेटौंडा–५ का वडा कमिटी अध्यक्ष पदम बहादुर बजगाइ, ५ नम्बर वडा अध्यक्ष पदका उमेदवार सुशील घिमिरेलगायतको आतिथ्यता थियो । अधिवेशनबाट भक्त बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।