प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले आउँदाे सङ्घ र प्रदेशको चुनावसम्म सत्तारुढ गठबन्धन टिक्ने अवस्थामा नरहेको दाबी गर्नुभएको छ । नेता विश्वकर्माले सत्तारूढ गठबन्धनलाई टिकाइ राख्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमालेले आफूहरूलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाएको पनि बताउनुभयो ।
१७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आज शनिवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । एमालेभित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको तर गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न प्रचण्ड र नेपालले त्याे हल्ला फैलाएकाे उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘बाहिर चर्चा भएजस्तो कसैलाई पनि प्रधानमन्त्री बनाउने भनेर पार्टीले छलफल गरेको छैन । गठबन्धनमा आफ्नो हात माथि पार्न प्रचण्ड र माधव नेपालले त्यस्तो हल्ला चलाइरहेका छन् । त्यो होइन । हामी आफ्नै शक्ति र सामर्थ्यमा आउँदाे चुनावकाे तयारी गर्छाैँ ।’
पालिका चुनावमा पार्टीभित्रकै कमजोरीका कारण अपेक्षाअनुसार नतिजा आउन नसकेको भन्दै नेता विश्वकर्माले आउँदाे सङ्घ र प्रदेशको चुनावमा भने पार्टीको सिङ्गो शक्तिलाई परिचालन गरेर अघि बढ बताउनुभयो । पार्टीभित्र असन्तुष्ट नेता, कार्यकर्ताको मागलाई सम्बोधन गरेर सङ्घ र प्रदेशको चुनावकाे तयारीमा लाग्ने पनि उहाँकाे भनाइ छ ।