file photo

मकवानपुर – बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशमा १२ वर्ष देखी १७ वर्षका ४८ प्रतिशत बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाइएको बताउनुभएको छ । शुक्रबार हेटौंडामा आयोजित कोरोना रोकथाममा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा उहाँले हालसम्म प्रदेशका ४८ प्रतिशत बालबालिकाले कोरोना बिरुद्धको पहिलो मात्रा खोप लगाएको बताउनुभयो ।
मन्त्री लामाले प्रदेश राजधानी हेटौंडाबाट खोप अभियानको सुरु भएपछि हालसम्म प्रदेशभरमा ९६ प्रतिशतले पहिलो मात्रा र ९५ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेको बताउनुभयो । खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको, समूदायमा नै पुगी अभियान सञ्चालन गरिएकाले पनि खोप लगाउनेको संख्या वृद्धि भइरहेको उहाँले बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना रोगले मानवीय क्षति मात्र नभइ अर्थतन्त्रमा समेत क्षति पुगेको बताउदैं मन्त्री लामाले कोभिडको नभइ अन्य सर्ने नसर्ने रोग नियन्त्रण गर्न सरकार तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले सरकार स्वास्थ्य क्षेत्र सुधार गर्न कटिवद्ध रहेको र स्वास्थ्यको पूर्वाधारमा पनि सुधार ल्याउन लागिपरेको बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कोरोना कहरकाबीच खोप अभियान, राहत वितरण, खाद्यान्न वितरण र व्यवस्थापन, लकडाउन, अक्सिजन व्यवस्थापन, सुरक्षा निकाय परिचालन, माक्स अभियान जस्ता विभिन्न कार्यक्रमहरु भएको बताउनुहुँदै यी कार्यहरु गर्न निजी क्षेत्र तथा सामाजिक संघरसंस्थाले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुर प्रमुख भीमसागर गुरागाई, हेटौंडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटा, राष्ट्रिय बाल संरक्षण संजालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडा, गैसस महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतले कोरोना रोकथामका विषयमा विचार व्यक्त गर्नुभएको थियो ।