मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाजलाई परिर्वतन गर्न सञ्चारजगत (पत्रकार र सञ्चार माध्यम) को भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख खुलालले पत्रकारकारिताको माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताउनुभएको हो ।
प्रमुख खुलालले सकारात्मक समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने भन्दै सञ्चारमाध्यममा आउने नकारात्मक समाचारले समाजलाई निराशाउन्मुख बनाउँने भएकाले सकारात्मक समाचार दिनेतर्फ पत्रकारहरुले ध्यानदिनुुपर्ने बताउनुुभयो । उहाँले पत्रकारले नकारात्मक कुरा बाहिर ल्याउनु पर्छ भन्ने धारणाले गर्दा पछिल्लो समय सकारात्मक कामका समाचारहरु समेत ओझेलमा पर्दै गएको बताउनुभयो । हरेक क्षेत्रमा पत्रकारिताले निर्वाह गर्ने भुमिका र सन्देश अत्यन्तै महत्वपुर्ण हुने भएकाले पत्रकारीता क्षेत्रले सोहि अनुसारको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । समाजलाई रुपान्तरण, सचेत र कमजोरी औल्याउँदै सकरात्मक रुपमा कलम चलाउन समेत उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईको सभाध्यक्षतामा कार्यक्रम भएको हाे ।