मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । शुक्रबार हेटौंडामा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्र सल्लाहाकार समितिको प्रथम चौमासिक बैठकमा उहाँले स्थानीय तहमा उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो ।

एकद्धार संकट व्यवस्थापन केन्द्रको सल्लाहाकार समितिको अध्यक्ष समेत रहनुभएका प्रमुख खुलालले समुदायमा लैङ्गिक हिंसाका घटनाहरु बढ्दो रहेको भन्दै स्थानीय तहहरुले उक्त कार्यक्रमलाई ध्यान दिनुपर्ने बताउनुभएको हो । उहाँले समुदायमा घट्ने विभिन्न हिंसाहरु जस्तै लैङ्गिक हिंसा पिडितलाई निशुल्क उपचार सेवा, मनोपरामर्श सेवा, आवश्यक सुचना प्रवाह, आवश्यक संघसंस्थासंग समन्वय र सहकार्य, लैङ्गिक हिंसामा परेकालाई रेफर जस्ता कार्यहरु गर्ने भएकाले स्थानीय तहहरुले उक्त कार्यक्रमलाई महत्वका साथ ध्यान दिनुपर्ने बताउनुभयो । बैठकमा स्थानीय तहका उपाप्रमुखहरुले केन्द्रको सेवा स्थानीय तहबाटै उपलब्ध गराउन सकिने प्रावधानका विषयमा विषयमा समेत छलफल गर्नुभएको थियो ।
बैठकमा केन्द्रबाट चालु आर्थिक वर्षमा भएका कार्यक्रम तथा प्रगतिका बारेमा जानकारी समेत गराईएको थियो । बैठकमा सल्लाहाकार समितिका सदस्यहरु जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पाबर्ती राना, मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्ट, मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा, कैलाश गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङ, बागमती गाउँपालिकाका उपाध्यक्ष धनमाया स्याङतानलगायतको सहभागिता थियो ।