बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकतन्त्रलाई संस्थागत गर्न मिडयाको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । पत्रकार महासंघ मकवानपुरको १६ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्र र त्यसलाई स्थापित गर्न मिडियाको भूमिका प्रभावकारी रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले मिडियाको भूमिका प्रतिपक्षी नभई सरकार पक्ष पनि रहनु पर्ने तथा सरकारले गरेको कुरालाई गरेको नगरेको कुरालाई नगरेको भनेर औंल्याउन वा सुझाव दिन समेत आग्रह गर्नुभयो । उहाँले गलत कुराहरुलाई गलत भनेर समाचार लेख्न सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
साधारण सभालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले सरकारले पत्रकारलाई पनि सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने बताउनुभयो । उहाँले सरकारले अन्य क्षेत्रमा सहुलियत दरमा ऋण उपलब्ध गराउने तर पत्रकारलाई ऋृण किन नदिने भन्दै सरकारलाई कोरोनाको जोखिम पेशानै दाउमा राख्न बाध्य बनेका पत्रकारलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने बताउनुभयो ।
साधारण सभामा पत्रकार महासंघ मकवानपुर शाखाले लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका ३ जना पत्रकारहरुलाई जनही नगद रु ८ हजार र प्रशंसापत्र सहित सम्मान गरेको छ । महासंघले राष्ट्रिय समाचार समितिका समाचारदाता कृष्णराम परियार, प्रयास साप्ताहिकका प्रकाशक कौशल पाण्डे र संचारकर्मी खेम बोलखेलाई पुरस्कृत गरेको हो । यसैगरि पत्रकार महासंघ मकवानपुरले जेष्ठ पत्रकारहरुका लागि स्थापना गरेको पेन्सन कोषमा सहयोग गरेको भन्दै हेटौंडा उपमहानगरपालिकालाई प्रशंसापत्र प्रदान गरेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेहर हरी बहादुर महत, लगाएतले मन्तव्य राखेका थिए । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखे्रल, सचिब रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु कृष्ण गिरी, पुरुषोत्तम सुबेदी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साधारण सभा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईको सभाध्यक्षतामा भएको हो ।