मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मानवसेवाको कार्य मानवियताको असल र पवित्र कार्य भएको बताउनुभएको छ । सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा २०७७) का यात्रीहरुलाई शुक्रबार हेटौंडामा स्वागत गर्नुहुँदै प्रमुख खुलालले मानवियताको असल र पवित्र कार्य गर्नु निकै कठिन रहेको भन्दै यसका लागि मनमनमा मानवता प्रबद्र्धन गर्न जरुरी रहेको बताउनुभयो ।

प्रमुख खुलालले करीब ८ वर्ष अगाडी हेटौंडाबाट सुरु भएको अभियानले अहिले राष्ट्रिय र अन्तराष्ट्रिय रुप लिएको भन्दै यस्तो पवित्र कार्यमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । नेपाललाई २०७८ सम्म सहयोगापेक्षि सडक मानव मुक्त बनाउने अभियनलाई मेचि महाकाली उद्धार कार्यक्रमले थप टेवा पुग्ने भन्दै उहाँले मानव सेवामा खट्नुभएका सबै यात्रुहरुलाई बधाई दिनुभयो । प्रमुख खुलालले देशमा कोहि पनि बिक्षिप्त भएर सडकमा नाना र छानाबाट बञ्चित हुन नपरोस भन्ने पबित्र उदेश्यका साथ जारी मानवता प्रबद्र्धन र मानवीय कार्यमा सबैलाई सरिक हुन समेत आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले अभियन्ताहरूलाइ यात्रा सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

मानवसेवा आश्रमले गत पुष ७ गतेबाट सुरु गरेको सहयोगापेक्षी सडकआश्रितहरुको उद्धार कार्यक्रमका अभियन्ताहरुलाई शुक्रबार हेटौंडामा स्वागत गरिएको हो । टोलीलाई जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयलगायत पतञ्जली योग समिति मकवानपुर, पुष्पाञ्जली आमा समुह, सियान पुर्नस्थापना केन्द्र, नारायणि सहकारी, साईराम सहकारीलगायत संस्थाले अभियन्ताहरुलाई स्वागत गरेको हो । कार्यक्रममा मानव सेवा आश्रमको केन्द्रिय कार्यालय समेत रहेको हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले विक्षिप्त भएर सडकमा पुगेका मानवलाई उद्धार गर्ने पसबत्र कार्यमा खटिनुभएका सम्पूर्ण अभियन्तालाई धन्यवाद दिनुभयो ।

गत पुष ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विदाई गर्नुभएर झापाबाट सुरु सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा २०७७) का यात्रीहरु शुक्रबार हेटौंडा आईपुगेका हुन् । मेची–महाकाली यात्रामा मानवसेवा आश्रमका ३५ जना उद्दार टोली खटिनुभएको छ । राष्ट्रिय उद्दार कार्यक्रम अन्तर्गत शुक्रबार सम्म करबि ३ सय ५० जना बेसाहारा सडकमानवहरुको उद्दार गरेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उद्दार गरिएको व्यक्तिलाई मानवसेवा आश्रममा राखिएको छ । यात्रा आगामी माघ ७ गते समापन हुने छ ।