बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा मकवानपुरका विभिन्न भागमा सञ्चालित १०१ साना सिँचाइ योजना पूरा भएकाे जनाएकाे छ । कृषि उत्पादकत्व बढाउने उद्देश्यले कार्यालयले चालु आर्थिक वर्षमा १९१ वटा योजना पूरा गर्ने लक्ष्य लिएकाेमा गत फागुनसम्ममा १०१ योजना सम्पन्न भएका जनाएको हाे ।

सम्पन्न योजनामा रु १७ करोड ८९ लाख ४७ हजार ६७५ खर्च भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मकवानपुरका प्रमुख निर्मल दाहालले जानकारी दिनुभयो । १९१ योजनाका लागि रु ३८ करोड ९८ हजार विनियोजित रकममध्ये सम्पन्न भएका योजनामा रु १७ करोड ८९ लाख ४७ हजार ६५७ खर्च भएको उहाँले बताउनुभयाे । सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चार वटा, सिँचाइसम्बन्धी ८० वटा, मझौला सिँचाइ योजना एक, तथा अन्य १५ वटा योजना सम्पन्न भएका छन् ।
योजनाअन्तर्गत चालु आवको हालसम्म पाँच हजार मिटर कुलो, सातवटा कल्भर्ट, दुई वटा पक्की सिँचाइ मुहान, तीनवटा सिँचाइ पुल निर्माण, एक सय २४ मि जाली निर्माण, तीन हजार एक सय ७६ जाली बाँध निर्माण, दुई हजार तीन सय ८० मिटर बाँध निर्माण, छ हजार चार सय ५० मिटर लामो पाइपबाट सिँचाइ कुलो निर्माण भएको प्रमुख दाहालले जानकारी दिनुभयो । पुरानो नहरको संरचना मर्मतबाट पाँच सय हेक्टर जमिन तथा थप नयाँ सिँचाइ योजनाबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको तथा अन्य संरचनाको मर्मत र निर्माण भइरहेको छ ।