हेटौंडा । हेटौंडामा बुधबारबाट १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आगोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सार्वजनिक मैदानमा मेला सुरु भएको हो ।
मेलाको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका छन् । सो क्रममा मुख्यमन्त्री जम्मकट्टेलले मुलुकलाई आर्थिक आत्मनिर्भरतर्फ डोर्याउन प्रदेश सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गरी सर्वसाधारण नागरिकहरुलाई खपत गर्ने वातावरणलाई सहजीकरण गर्न योजना तर्जुमा गर्ने बताए ।
उनले समाजमा रहेका उपभोक्ताहरुलाई स्वदेशी उत्पादनलाई नै दैनिकी प्रयोगकमा ल्याउन व्यवहारिक एवम् सौद्धान्तिक पक्षलाई जिम्मेवार बनाउन नसकेसम्म परनिर्भतातर्फ उन्मुख भएको समाजलाई अब युवा पुस्ताले स्वदेशी उत्पादनलाई वृद्धि गरेर आर्थिक आत्मनिर्भरतर्फ क्रियाशील तुल्याउनुपर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री उद्धव थापा, नेपाली कांग्रेस बागमतीका सदस्य एवम् पूर्वमन्त्री इन्द्रबहादुर बानियाँ र संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मन्तव्य व्यक्त गरेका थिए ।
मेलामा ३२७ वटा प्रशर्दनी कक्षमा विभिन्न उत्पादित वस्तु र हस्तकलाको सामग्रीहरु प्रदर्शनमा राखिने भएको छ । सो मेलाको प्रदर्शनी कक्षमा कृषि उत्पादन, अटो मोबाइल, कम्प्युटर, विभिन्न कृषिको औजारहरुलगायत स्थानीय कृषकहरुले उत्पादन गरेका खाद्य सामग्रीहरु पनि राखिने भएको छ ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती दिने आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघले यसअघि २०७५ सालमा सोही स्थानमा ९ औं राष्ट्रिय मेलाको आयोजना गरेको थियो ।