मकवानपुर । बागमती प्रदेश सरकारले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यादब चन्द्र शर्माले आगामी आर्थिक वर्ष २०८०–२०८१ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नु भएकाे हाे ।
सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गर्ने, सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ । ‘प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा प्रदेशको सन्तुलित विकासका लागि ठूला आयोजना छनोट गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । बागमती प्रदेश सरकारले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गर्दै कक्षा १२ सम्म सञ्चालन गर्ने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी आगामी आर्थिक वर्ष भित्र कक्षा १२ सम्म सञ्चालन गरिने बताउनुभयाे । उहाँले कक्षा १२ सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा सो कार्यक्रम विस्तार हुने बताउनुभयाे ।
बागमती प्रदेश सरकारले ‘गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रम संचालनको घोषणा गरेको छ । प्रदेश प्रमुख शर्माले ‘गृहणी महिलासँग प्रदेश सरकार’ भन्ने मूल नाराका साथ गृहणीहरुलाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गरिने जानकारी गराउनुभयाे ।
प्रदेश सरकारले लैङ्गिक हिंसाबाट प्रभावितहरुको लागि उद्दार, राहत, मनोसामाजिक परामर्श र पुर्नस्थापन सम्बन्धी सामाजिक सुरक्षाको विशेष कार्यक्रम संचालन गरिने भएको उहाँले बताउनुभयाे । प्रदेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि समक्ष तथा व्यवसायी खेलाडी तयार गर्न खेलको पूर्वाधारको विकास गर्दै प्रशिक्षणको विकास गर्ने प्रदेश प्रमुख शर्माले बताउनुभयाे । साथै उहाँले स्थानीय स्तरमा खेलकुदलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने बताउनुभयाे । प्रदेशसभामा पेस भएको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममाथि जेठ १७ गते दिउँसो २ बजे बस्ने बैठकमा छलफल हुनेछ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ