यस वर्षको संविधान दिवश आगामी असोज २, ३ र ४ गते भव्यताका साथ मनाउन तयारी भइरहेको छ ।संविधान दिवश मूलसमारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उप समितिको आजको बैठकले संविधान दिवशलाई भव्यताका साथ मनाउन सञ्चारमाध्यमहरुबाट विभिन्न कार्य गर्ने निर्णय गरेको छ ।

उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रायका सचिव हरिप्रसाद बस्यालको अध्यक्षतामा आज बसेको बैठकले संविधान दिवशलाई भव्यताका साथ मनाउन रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रबाट विशेष परिसंवाद, संवाद सञ्चालनगर्ने, जागरण गीतहरु प्रसारण गर्ने र घरघरमा राष्ट्रिय झण्डा राख्नका लागि प्रचार गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले दूरसञ्चार सेवा प्रदायकबाट ‘संविधान दिवश हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्नेजस्ता नाराहरु एसएमएस पठाउने, डिस्प्ले बोर्डमा सन्देश प्रसारणगर्ने, वर्गीकरणमा परेका पत्रपत्रिकामा लोककल्याणकारी विज्ञापनको रुपमा संविधानबारे प्रकाशनगर्ने लगायतका निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।