मकवानपुर– मकवानपुरमा आगामी भदौ २६ गतेदेखि असोज ५ गतेसम्मका निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (कमाण्ड पोष्ट) को बैठकले परिस्थितिको मूल्यांकन गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको हो ।
कमाण्ड पोष्टको बैठकको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालयले आज एक सुचना जारी गर्दै जिल्लाभित्र सार्वजनिक सेवा प्रवाह, बजार÷व्यवसाय, उद्योग, बैंक तथा वित्तिय संस्था, यातायात क्षेत्र सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ ।
बैठकले मकवापनुरमा चल्ने निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने तथा अनुमति नलिई बाहिरी जिल्लाबाट आउने दुई पाङग्रे सहितको अन्य सवारीको आवागमनमा रोक लगाउने निर्णय गरेको छ । यस्तै खाद्यान्न, तरकारी, दुग्धजन्य पर्दार्थको बिक्रिका लागि बिहान ५ बजेदेखि बिहान ९ बजसम्म मात्र पसल व्यवसाय खोल्न पाउने र यी बाहेकका अन्य पसलहरु भने बिहान १० बजेबाट ३ बजेसम्म खुल्ने तथा उद्योगमा कार्यरत कर्मचारीहरु बिहान ८ बजेसम्म उद्योग भित्र गइसक्नुपर्ने तथा साँझ ६ बजेपछि मात्र निस्कन पाउने र बाहिर जिल्ला वा विदेशबाट आउने कामदारको हकमा भने पिसिआर परीक्षण गरेर नेगिटिभ आएको ७२ घण्टाभित्र ल्याइसक्नुपर्ने प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा उल्लेख छ ।
यसैगरी जिल्लामा सङक्रमित, घरकै आइसोलेसन भएकाहरुको फलो अप तथा कन्ट्याक्ट ट्रेसिङ लागयतको कार्य जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले गर्ने भएको छ भने स्थानीय तहका वडाअध्यक्ष लगायतको टोलीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयको लागू भए नभएको अनुमगन गर्ने प्रमुख जिल्ला अधिकारी नेपालद्धारा जारी आदेशमा जनाइएको छ । साथै अन्य शिक्षण संस्था, खेलमैदान, मठमन्दिर, जिमक्लब, सार्वजनिक पुस्तकालय, भेला, सेमिनार, गोष्ठ गर्न भने नपाइने आदेशमा उल्लेख छ ।