हेटौंडा । हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय -प्राविधिक शिक्षालय_ को ५७ औं अभिभावक भेला आइतबार हेटौंडामा भएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष फूर्वा दोर्जे लामाको सभाध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा विद्यालयको प्रअदेखि उत्कृष्ट शिक्षक, कर्मचारी र अभिभावकलाई सम्मानित गरिएको छ । २०४७ सालदेखि विद्यालयका प्रधानाध्यापकको रुपमा जिम्मेवारी वहन गरिएको भन्दै प्रअ माधव दाहाललाई सम्मानित गरिएको छ । यस्तै प्राथमिक तह तर्फ उत्कृष्ट शिक्षक खडानन्द चौलागाईँ र लक्ष्मी दुलाल, आधारभूत तह तर्फ सुमन श्रेष्ठ र संगीता गौतम, माध्यमिक तह तर्फ सरस्वती अधिकारी, सुर्यप्रसाद घिमिरे र मावि तह (कक्षा ११ र १२) तर्फ राम श्रेष्ठ र प्रमिला पौडेललाई नगदसहित सम्मानित गरिएको छ । यसैगरी उत्कृष्ट कर्मचारीतर्फ विजय मगरलाई नगद ५ हजार ७ सय रुपैयाँसहित सम्मानित गरिएको छ ।
विद्यालयमा उपस्थित भई सल्लाह र सुझाव दिने उत्कृष्ट अभिभावकतर्फ सरिता घिमिरे पुडासैनी र विन्दा राईलाई सम्मानित गरिएको छ । निवृत्त हुने शिक्षकतर्फ ज्ञानुप्रसाद पहारी र कर्मचारीतर्फ छात्रबहादुर भुजेललाई सम्मानित गरिएको छ । मकवानपुरे पत्रकार जमुना थिङलाई विद्यालयले नगदसहित सम्मान गरेको छ । कार्यक्रममा कक्षागत तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । गत वर्ष २०७९ सालको परीक्षामा नर्सरीदेखि कक्षा–१२ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, अनुशासन, नियमित सबैभन्दा बढी कक्षामा उपस्थिति जनाउने र सरसफाइ लगायतको विधाबाट विद्यार्थीलाई स्टेसनरी सामग्रीसहित पुरस्कृत गरिएको छ ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले विद्यालयको ९ कोठे प्राविधिक भवन उद्घाटन गरेका थिए । श्रेष्ठले भवनको उद्घाटन गर्दै विद्यालयको भौतिक निर्माण तथा शैक्षिक गुणस्तरीयको लागि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । भूटनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूर्वा दोर्जे लामाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मकवानपुर जिल्लाको ऐेतिहासिक विद्यालय भूटनदेवीलाई नमुना विद्यालय बनाउन चुनौति रहेको बताए । यसैगरी प्रअको प्रतिवेदन प्रस्तुत गर्दै दाहालले विद्यालयमा ७६ जना शिक्षक तथा कर्मचारी रहेको जानकारी दिए । २ हजार २ सय ६८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय प्रशासनका कर्मचारी बालकृष्ण अधिकारीले लेखापरीक्षणको प्रतिबेदन प्रस्तुत गर्दै यस वर्ष ५१ करोड ६ लाख ५३ हजार ६ सय ६८ विभिन्न शिर्षकमा भुक्तानी भएको जानकारी दिए ।
कार्यक्रममा विद्यालयका सल्लाहकार जुनेली श्रेष्ठ, हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख हरिचन्द्र सापकोटालगायतको आतिथ्यता रहेको थियो ।