मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेशमा सञ्चालनमा रहेका एक हजार वाटसम्म क्षमताका रेडियोहरुको नवीकरण शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ । साथै प्रदेश सरकारले रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले नविकरणमा पूर्ण छुट साथै रायल्टीमा ५० प्रतिशत छुट दिने निर्णय गरेको वाग्मती प्रदेशका संचार रजिष्टार रेवती सापकोटाले जानकारी दिनुभयो । यस अघि रोयल्टी बापत २ प्रतिशत दिनुपर्ने भए पनि अबदेखि भने १ प्रतिशत मात्र तिरे पुग्ने उहाँले बताउनुभयो ।
केही समय अगाडि स्वतन्त्र रेडियोहरुको छाता सङ्गठन ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल (बान) ले नवीकरण छुटको माग गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । सोहि निर्णयको कार्यान्वय गर्दै प्रदेश सरकारले उक्त निर्णय गरेको हो । प्रदेश सरकारको यस निर्णयले बगमती प्रदेशमा रहेका झण्डै एक सय रेडियोहरुले माघ महिनासम्ममा नवीकरण गर्ने अवसर पाउने समेत सापकोटाले जानकारी दिनुभयो ।
केन्द्र सरकारले बजेट भाषण मार्फत रेडियो इजाजत र लाइसेन्स नवीकरणमा पूर्ण छुट तथा रोयल्टीमा ५० प्रतिशत छुट दिने भने पनि अझै कार्यान्वयन गर्न नसकेको अवस्थामा प्रदेश सरकारले भने छुट दिने निर्णय गरेको छ । पुस मसान्तसम्म रेडियो इजाजत लाइसेन्स नवीकरण नगरे अनुमति पत्र खारेज हुने प्रावधान छ ।