फाइल फाेटाे

बन्ने भयो बहुप्रतिक्षित नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय

मकवानपुर– ३ नम्बर प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिँदै आएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा सम्पुर्ण प्रदेश सरकार प्राविधिक शिक्षा अहिलेको अवश्यक्ता हो भन्ने उदेश्यकासाथ अगाडी बढेको अवस्थामा प्रदेशमा बहुप्राविधक महाविद्यालय बन्ने भएको छ । करीब २ दशक अगाडी देखिको बहुप्राविधिक महा विद्यालय बनाउने भन्ने सपना अब भने साकार हुने भएको हो ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल तत्कालीन हेटौँडा नगरपालिकाका मेयर हुँदा देखेको सपना दुई दशकपछि पूरा हुने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ६ चित्रेपानीमा नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको कात्तिकको तेस्रो सातामा शिलान्यास गर्ने कार्यक्रम तय भएसँगै बहुप्रतिक्षित महाविद्यालय निर्माण योजनाले सार्थकता पाएको हो । नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालयको सिलान्यासको तयारी भइरहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभिटी) को ३ नं प्रदेश कार्यालयले जानकारी दिएको छ । हेटौँडा–प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तत्कालीन हेटौँडा नगरपालिकाका मेयर हुँदा देखेको सपना दुई दशकपछि पूरा हुने भएको छ ।
२०५४ सालमा मेयर हुँदा उहाँले प्राविधिक महाविद्यालय स्थापनाको बहस थाल्नु भएको हो । यही बिषयमा निरन्तर लागिरहनु भएका तत्कालीन मेयर पौडेल अहिले प्रदेश नं ३ को मुख्यमन्त्री भइसकेपछि भने प्रभावकारी रुपमा प्राविधिक महाविद्यालयका लागि भूमिका खेल्नेमा पर्नुहुन्छ । २०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भातर भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । तर, हस्ताक्षर भएको लामो समय बितिसक्दा समेत निर्माणको कामले गति पाएको थिएन ।
‘मुख्यमन्त्री ज्यूको बिशेष चासो, पहल र अनुगमनकै कारण महाविद्यालयका भवनहरु निर्माण हुने चरणमा हामी प्रवेश गरेका छौँ’, सिटिइभिटीका ३ नं प्रदेश प्रमुख कृष्णबहादुर केसीले भन्नुभयो । भारतीय राजदुताबासकै नेतृत्वमा महाविद्यालयका भवनहरु निर्माण हुनेछन् । प्रदेश सरकारले २६ बिगाह जग्गा खाली गराएर महाविद्यालयको भवन निर्माणका लागि स्थान उपलब्ध गराइदिएपछि राजदुताबासले भवन निर्माणको लागि टेण्डर प्रक्रिया सम्पन्न गरिसकेको छ । भारतीय अनुदानको ६४ करोड रुपियाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुने सिटिइभिटीका प्रमुख केसीले जानकारी दिनुभयो । सिलान्यास भएको २४ महिनाभित्र सबै संरचनाहरु निर्माण गर्नेगरी ठेकेदारसँग सम्झौता भएको बताइएको छ ।
महाविद्यालय भवनहरु निर्माण भइसकेपछि सिटिइभिटीलाई हस्तान्तरण हुने र त्यसपछि निरन्तर प्राविधिक कक्षाहरु सञ्चालन हुने सिटिइभिटीका प्रदेश प्रमुख केसीले जानकारी दिनुभयो । सिटिइभिटीले स्वास्थ्यबाहेकका सबै क्षेत्रका प्राविधिकहरु महाविद्यालयबाटै उत्पादन गर्नेगरी कोर्षहरु सञ्चालन गर्ने जनाएको छ । सयौँ आबधिक तालिमहरु समेत महाविद्यालयबाट सञ्चालन हुनेछ । ‘हेटौँडा औद्योगिक क्षेत्र समेत रहेकाले अन्य थुप्रै प्राविधिक बिषयहरुमा अध्ययन गराउन सकिनेछ’, सिटिइभिटीका प्रदेश प्रमुख केसीले भन्नुभयो–‘अहिलेका लागि भने मेकानिकल ३ बर्षे कार्यक्रम सुरु गरेका छौँ ।’ स्थानीय बालजागृति युवा बर्ष माविको भवन लिएर अहिले मेकानिकल ओभरसियर अध्यापन थालिएको उहाँले जानकारी दिनुभयो । महाविद्यालयमा एक शैक्षिक कक्षा सञ्चालन हुँदा विभिन्न बिषयहरुका गरी २ हजार जना विद्यार्थीहरु दीक्षित भएर जनशक्तिको रुपमा निस्कनेछन् ।
यता हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने भएपछि हेटौँडामा स्वाथ्य क्षेत्रका जनशक्ति पनि उत्पादन हुनेछ । प्रदेश सरकारले हेटौँडालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिरहेको छ । हेटौँडामा बहुप्राविधिक महाविद्यालय निर्माण र मदन भणडरी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि सबै प्रकारका जनशक्ति उत्पादनका लागि हेटौँडा राष्ट्रिय रुपमा मात्र नभई दक्षिण एसियाकै हबको रुपमा विकास हुने अपेक्षा गरिएको छ ।