हेटौँडा, बैशाख १७ । मकवानपुर जिल्लामै पहिलोपटक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था लागू गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयले गत वैशाख ४ गते जारी गरेको परिपत्रअनुसार अर्धमासिक तलब भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
अर्थ मन्त्रालयको उक्त परिपत्रमा राष्ट्रसेवक कर्मचारीहरूको तलब तथा भत्ता मासिक रूपमा एकमुष्ट भुक्तानी गर्नुको सट्टा अर्धमासिक रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । सोही निर्देशनलाई कार्यान्वयन गर्दै बोर्डले आफ्ना कर्मचारीलाई अबदेखि तलब दुई किस्तामा वितरण गर्न थालेको जनाएको छ ।
बोर्डका लेखा प्रमुख तथा सूचना अधिकारी सञ्जय कुमार न्यौपानेका अनुसार संस्थामा कार्यरत १०४ जना कर्मचारीलाई मासिक रूपमा करिब ३८ लाख २४ हजार रुपैयाँ तलब भुक्तानी हुँदै आएको छ । अर्धमासिक प्रणाली लागू भएसँगै पहिलो चरणमा करिब १९ लाख १२ हजार रुपैयाँ निकासा गरिएको उहाँले जानकारी दिनुभयाे ।
यस प्रणाली लागू भएसँगै कर्मचारीहरूले मासिक तलब एकैपटक पाउने सट्टा दुई किस्तामा पाउनेछन् । यसले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता ल्याउने र आर्थिक अनुशासन मजबुत बनाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।
सरकारले सार्वजनिक वित्त व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउन यस्तो प्रणाली लागू गरेको बताइएको छ । जिल्लास्तरमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने पहिलो संस्थाका रूपमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अग्रस्थानमा देखिएको छ ।